शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

पर्वतको खानीगाउँमा सिलाइकटाई र प्याड बनाउने तालिम सुरु

लक्ष्मण विश्वकर्मा,पर्वत १६ फागुन २०७८

महिलाहरूलाई उद्यमशिल बनाउने उद्देश्यले पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा ६० दिने एडभान्स सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ ।रोटरी क्लब अफ रुद्रमती काठमाडौको आयोजना,आइसिए नेपालको सहयोग तथा मोती सामुदायिक पुस्तकालय पर्वतको समन्वयमा तालिम सुरु भएको हो । तालिम शुभारम्भ कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि आइसिए नेपालका संस्थापक अध्यक्ष तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. तत्व प्रसाद तिमिल्सिनाले महिलाहरुलाई उद्यमशिलताबाट स्वरोजगार र आत्मनिर्भर बनाउने उदेश्यले फलेवासमा उक्त तालिम आयोजना गरिएको बताउनुभयो । संस्थाले विगत देखि नै देशका विभिन्न ठाउँमा सामाजिक रुपान्तरण र महिला सशक्तीकरणका कार्यक्रमहरु संचालन गरेको बताउदै सिप सिकेर धेरै महिला दिदिबहिनीहरु आत्मनिर्भर हुनुभएको उहाँले बताउनुभयो । फलेवासका महिलाहरू सीप सिक्न हौसिएकोमा खुसी व्यक्त गर्दै सिकेका कुरा व्यबहारमा रुपान्तरण गरि सफल उद्यमी बन्न अनुरोध गर्नुभयो ।  तालिमको लागि काठमाडौंबाट समेत उत्कृष्ट प्रशिक्षक उपलब्ध गराउने बताउदै सिकाइलाई दिगो र प्रभावकारी बनाउनुपर्नेमा तिमिल्सिनाले जोड दिनुभयो ।आइसिए नेपालको सहयोगमा विगतमा पनि फलेवासमा विभिन्न कार्यक्रम संचालन भैसकेको र यसपालिको सिलाईकटाई र सेनेटरी प्याड बनाउने तालिमले महिलाहरूलाई जिविकोपार्जनमा फाइदा पुग्ने समाजसेवी तथा मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माले बताउनुभयो । विगतका कार्यक्रमहरुले महिलाहरुलाई उद्यमशिल बनाउन सकारात्मक प्रेरणा मिलेको र यो तालिमले सबल र सक्षम उद्यमी उत्पादन हुने शर्माले विश्वास व्यक्त गर्नुभयो ।  तालिमलाई अवसरको रुपमा लिएर उत्कृष्ट रुपमा सिक्न र सिकेका कुरा व्यबहारमा उतार्दै उद्यमशिल बन्न सहभागीलाई आग्रह गर्नुभयो ।विकास र सशक्तीकरणका लागि पुस्तकालयले विभिन्न संस्थाहरुसँगको सहयोग तथा समन्वयमा महत्त्वपूर्ण काम गरेको र आगामी दिनमा पनि विभिन्न कार्यक्रम संचालनलाई निरन्तरता दिने उहाँले बताउनुभएको छ ।सफल उद्यमी बन्नका लागि अध्ययन महत्त्वपूर्ण भएको बताउदै लाइब्रेरीको सदुपयोग गरि अध्ययनमा पनि जोड दिनुपर्ने शर्माको भनाइ थियो ।रोटरी क्लब अफ रुद्रमती काठमाडौंका अध्यक्ष सारदा प्रसाद धितालले मानवीय सेवामा समर्पित रहेर संस्थाले सामाजिक कार्यहरू संचालन गर्दै आएको बताउनुभयो । महिला,विपन्न, अपांग अशक्त उल्लेखनीय कार्यहरू गर्दै आएको उहाँले बताउनुभयो ।उक्त तालिम संचालनका लागि मुख्य भुमिका खेल्नुभएका समाजसेवी भोलानाथ शर्माले निस्वार्थ समाज सेवामा लगेर शिक्षा, स्वास्थ्य, संचार, उद्यमशिलता लगायतको क्षेत्रमा अतुलनीय  योगदान पुर्‍याइ सबैको प्रेरणाको स्रोत बन्नुभएको भन्दै धितालले प्रसंशा व्यक्त गर्नुभयो । रोटरी क्लब अफ रुद्रमती काठमाडौंका चार्टर सदस्य दिपक प्रसाद उपाध्यायले देशका विभिन्न स्थानमा आवश्यकता र औचित्यका आधारमा क्लबले काम गरेको बताउदै सिकेका कुरा उपयोग गर्दै जिवनको आधारशिलाता तयार गर्न आग्रह गर्नुभयो । महिला उद्यमी तथा फलेवासन नगर कार्यपालिका सदस्य केशा परियारले आइसिए नेपालसँग जोडिएर विगतमा संचालन भएका उद्यमशिलताका कार्यक्रमले आफुलाई सफल उद्यमी बन्न प्रेरणा मिलेको बताउदै संस्थाको प्रशंसा गर्नुभयो । संस्थामा रहेर काम गर्दा विभिन्न चुनौतीको सामना गरेको स्मरण गर्दै आफू सहि बाटोमा हिडेमा कसैसँग झुक्नु नपर्ने परियारले बताउनुभयो । महिलाहरूलाई चुलोचौकोमा मात्र सिमित नभई समय व्यवस्थापन गरी सीप सिकेर आत्मनिर्भर हुनुपर्नेमा उहाँले जोड दिनुभएको थियोे ।तालिमका लागि आवश्यक मेसिन, कपडा तथा अन्य सामाग्री संस्थाले उपलब्ध गराएको पुस्तकालयका अध्यक्ष कृष्णराज पौडेलले बताउनुभयो । पुस्तकालयको समन्वयमा आयोजना भएको उक्त तालिम निकै महत्त्वपूर्ण रहेको बताउदै चासो दिएर तालिम सिक्न पौडेलले आग्रह गर्नुभयो ।कार्यक्रममा पुस्तकालय व्यवस्थापन समिति सदस्य भिम लम्साल क्षेत्री,समाजसेवी महेश्वर पन्त, भवानी विद्यापिठ माबिका प्रअ अर्जुन कुमार रेग्मी, ब्रमहाकुमारी इश्वरीय विश्व बिद्यालय खानीगाउँ शाखा प्रमुख जानकी दिज्यु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । सिलाईकटाई तथा सेनेटरी प्याड बनाउने तालिममा सहभागी महिलाहरूले तालिममा सिकेका कुराहरूको आधारमा आफ्नै गाउँठाउँमा उद्यम गरि आत्मनिर्भर बन्ने प्रतिबद्धता गर्दै आयोजक, सहयोगी त समन्वयकारी संस्थालाई धन्यवाद व्यक्त गरेका छन् । ६० दिनसम्म संचालन हुने तालिममा फलेवासका विभिन्न वडाका बेसिक सिलाइ सिकेका १५ जना महिलाहरुको सहभागीता रहेको छ । मोती सामुदायिक पुस्तकालयका संस्थापक अध्यक्ष भोलानाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकालय संचालन समितिका अध्यक्ष कृष्णराज पौडेलको स्वागत मन्तव्य र कार्यक्रमको संचालन पुस्तकालयका सदस्य गोविन्द सापकोटाले गर्नुभएको थियो ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img