आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

गण्डकी सरकारका प्रवक्ता भन्छन् : कानुन मान्ने नाममा जनता मरे मरून् भन्ने ?

पर्वत : गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले कतिपय मिडियामा ‘गण्डकी प्रदेश सरकारले १६ करोड रुपैयाँ रकमान्तर गरेर आफ्ना कार्यकर्तालाई दिएको’ भनी आएको समाचारप्रति खण्डन गरेका छन्।

कतिपय अनलाइन तथा छापा माध्यमहरूमा सोही शीर्षकमा समाचार आइरहेको बेलामा बुधबार प्रेस युनियनका पदाधिकारीबीच पोखरामा भएको कुराकानीका क्रममा उनले कानुन मान्ने नाममा जनता मार्न नसकिने बताएका हुन्।

‘लमजुङमा गाडी नै हिँडेन त्यो सफा गर्न हामीले कहाँबाट पैसा पठाउने? किनकि दोर्दीमा त्यस्तो हुन्छ भनेर पहिलेको सरकारले पैसा त राखेको छैन। नयाँ बजेट र कार्यक्रम पनि आयो। बजेटमा त्यस्ता खालका कार्यक्रमहरूको बाहुल्यता छ। धेरैजसो खर्च हुँदैनन्, भएनन्। खर्च नभए त्यो फेरि ढुकुटीमा फर्कने हो’, उनले भने, ‘रकमान्तरलाई अहिले कतिपयले अपराधका रूपमा भ्रष्टाचारका रूपमा पनि परिभाषित गरेका छन्। त्यो हैन कि भन्ने मलाई लाग्छ। जनतालाई अप्ठ्यारो परेको छ, जाली किन्न परेको छ। कोहीले लौन हजुर घरछेउमा जालीमा ढुङ्गा हाल्देऊ भनेर घर बचाउन खोज्यो भने असारमा बजेट ल्याउँछौं, भदौमा तपाईंलाई अख्तियारी आउँछ, काम असोजमा गर्नुहोला भनेर भन्ने हो भने त बाढीले त समस्या बुझ्दैन।’

जनताको घर र धन बचाउन पनि सरकारले रकमान्तर गरेरै भए पनि काम गर्नुपरिरहेको प्रवक्ता खड्काको भनाइ छ। वर्तमान सरकारले अर्को वर्ष पनि निरन्तरता पायो भने थप बजेट ल्याउनुपर्ने आवश्यकता नै नपर्ने तर अहिलेको अवस्था भने त्योभन्दा फरक रहेको उनको भनाइ  छ।

वर्तमान सरकार असारमा बनेका कारण जेठमा रकमान्तर कसरी गर्ने? भन्ने प्रश्न गर्दै उनले पत्रकारहरूलाई सरकारका कामलाई सकारात्मक रूपमा लिएर कलम चलाइदिन अनुरोध गरे।

‘हाम्रो सरकार नै असारमा बनेको छ त जेठमै रकमान्तर कसरी गर्ने? यो बाध्यतालाई बुझ्नुपरो, कलम चलाइदिनपर्‍यो। गण्डकी सरकारले रकमान्तर गरेर गल्ती गर्‍यो भनेर कसैले लेख्न सक्छ भने उसले लमजुङमा जनताका घर भत्किए पनि भत्किनुपर्छ, तर सरकारले कानुन मान्नै पर्छ भनेर लेखिदिनपर्‍यो’, खड्का भन्छन्, ‘मनाङका जनता अँध्यारोमा बसेर त्यहाँ तड्पिराख्नुपरोस्, गर्भवती महिलाले औषधि नपाउँदा मर्न परे पनि मरोस् तर चाहिँ कानुन मान्नुपर्छ भनेर लेख्नुहोस्। रकमान्तर गरेर हामीले पठाएका पैसाहरू कार्यकर्तालाई दिएको मान्नुभएको हो भने तपाईंहरूको एउटा समूह बनाएर अनुगमन गर्नुहोस्।’

कहीँ कतै सानो मात्रामा पनि चुहावट भएको थाहा पाएमा सरकारलाई खबर गरिदिन अनुरोध गर्दै उनले कतै भ्रष्टाचार भएमा त्यो सरकारकै बेइज्जत हुने बताए।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img