आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

कस्ले मार्ला कुश्मा नगरपालिकामा बाजी ?

पर्वत –स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गएको छ । उमेदवारहरु चुनावी प्रचार प्रसारमा ब्यस्त छन् । निर्वाचनलाई आफ्नो कोल्टामा पार्नका लागि उनीहरु रणनीति बनाउँदैमा ब्यस्त देखिन्छन् । पर्वत जिल्लामा सत्ता गठबन्धनसंग एमाले एक्लै भिड्दैछ । जिल्लाको सदरमुकाम समेत रहेको कुश्मा नगरपालिका जिल्लाकै ठूलो नगरपालिका हो ।

झण्डै ३१ हजार मतदाता रहेको नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका रामचन्द्र जोशी नगरप्रमुखका उमेदवार छन् भने एमालेको तर्फबाट गणेश शर्मा पौडेल नगरप्रमुखका उमेदवार रहेका छन् ।

यस पटक पौडेल र जोशी वीच  प्रतिस्पर्धा हुँदैछ । यस अघि २०७४ सालको निर्वाचनमा एमालेका उमेदवारलाई हराउँदै जोशी नगरपालिकाको संस्थापक नगरप्रमुख बनेका थिए । उनी पुनः नगरप्रमुख पदमा दोहारिने गरी उमेदवार बनेका हुन् । नेपाली कांग्रेसका प्रदेश सहमहामन्त्री जोशीलाई माओवादी केन्द्र र जसपाको समर्थन रहेको छ ।

उता, एमालेको तर्फबाट एक्लै भिड्दै गरेका पौडेल पर्वत जिल्लाको कम्युनिष्ट आन्दोलनका संस्थापक नेता हुन् । विगत ५२ बर्ष देखि राजनीतिमा सक्रिय पौडेल यस अघिका २ वटा संसदीय निर्वाचनमा समेत उमेदवार बनेर पराजय भोगेका थिए । एमालेको केन्द्रिय सल्लाहकार परिषदका सदस्य समेत रहेका पौडेललाई एमालेले बलियो उमेदवारको रुपमा अघि सारेको हो । पौडेल र जोशी वीचको प्रतिस्पर्धामा पौडेलले गठबन्धनको समेत सहानुभूति पाउने एमाले कार्यकर्ताहरुको विश्लेषण छ ।

उता, जोशी नेपाली कांग्रेसका नेता भए पनि सवै पाटीका कार्यकर्ताहरु वीच लोकप्रिय भएका कारण उनको पक्षमा पनि मत आउने कांग्रेसले आकलन गरेको छ ।

कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पौडेल ३२ बर्षे शिक्षण पेशाबाट अवकास प्राप्त नेता हुन् । वर्गिय मुक्तिको आन्दोलनमा अनवरत क्रियाशिल पौडेल कुश्माको पिपलटारीका बासिन्दा हुन् । कांग्रेसका नेता जोशी भने सदरमुकाम कुश्मा बजारका बासिन्दा हु्न् । जोशी र पौडेल वीचको प्रतिस्पर्धालाई रोमाञ्चक मानिएको छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img