बिहिबार, चैत्र ९, २०७९
Thursday, March 23, 2023
spot_img

हाइटेन्सन टावर विवाद समाधान गर्न पर्वत पुगे घिसिङ

पर्वत-पर्वतको फलेवास नगरपालिकामा रहेको फलेवास रङ्गशालालाई पोखरा रङ्गशालापछिको दोस्रो रङ्गशाला बनाउने अभियानमा फलेवासवासीहरू छन् । गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको पोखरा रङ्गशालाको विकल्पको रूपमा तयार गर्ने लक्ष्य सहित विकासको क्रममा रहेको सोही रङ्गशालाको बिच भागमा बहु प्रतिष्ठित राष्ट्रिय गौरवको कालीगण्डकी प्रसारण कोरिडोरको हाइटेन्सन टावर परेको छ ।

फलेवासवासीहरूले बेला बेलामा टावर हटाउनुपर्ने माग गर्दै आन्दोलन र दबाब सिर्जना गर्दै आइरहेका छन् । समस्या समाधानको लागि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायतको टोलीले नेपाल बिद्युत् प्राधिकरणमा पुगेर कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर छलफल गरे पनि समस्या भने टर्न सकेन । मैदानको बिच भागमा परेको टावरलाई छेउतर्फबाट लैजाने कुरा भएको भए पनि त्यसैमा समेत अन्योल छ ।

समस्या समाधान नभई नागरिक र जनप्रतिनिधिहरूबाट समेत निरन्तर दबाब आएपछि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ स्वयम् नै फलेवास रङ्गशालामा पुगेर त्यहाँको वस्तुस्थितिको अवलोकन गरेका छन् । आइतबार दिउसो जिल्ला प्रशासन कार्यालयमा राखिएको सर्वदलीय छलफलमा भाग लिएपछि उनी फलेवास पुगेर स्थानीयवासी र सरोकारवालाहरूसँग छलफलमा जुटेका हुन् ।

नगरकै गौरवका रूपमा निर्माणाधीन रङ्गशाला जोगाएर प्रसारण लाइन लैजान यसअघि नै भएको सहमति अनुसार काम गर्न आयोजनाको भारतीय ठेकेदार पक्षले आनाकानी गरेपछि घिसिङ रङ्गशालामै पुगेर ठेकेदार कम्पनी, आयोजना प्रमुख तथा सरोकारवालासँग छलफल गरेका हुन् । यसअघि नगरप्रमुख गंगाधर तिवारी लगायतको टोली प्राधिकरणको केन्द्रीय कार्यालयमै पुगेर गरेको आग्रह बमोजिम रङ्गशाला र स्थानीय विद्यालय, बस्ती लगायत पूर्वाधार जोगाएर लाइन बिस्तार गर्ने सहमति भएको थियो। घिसिङले सम्बन्धित पक्षलाई दिएको निर्देशन अनुसार समयमै काम हुन नसकेपछि आइतबार दिनभर कार्यकारी निर्देशक रङ्गशाला तथा पर्वत प्रशासनमा सोही विषयको निकास निकाल्न व्यस्त रहे ।

दिउँसो रङ्गशाला पुगेका घिसिङले स्थानीयहरूको रोहवरमा रङ्गशालाको डिलभन्दा तल (कालीगण्डकी किनारतर्फ) मुख्य टावरका दुई वटा पोल गाड्ने गरी सहमति समेत गराएका छन् । ‘मिल्नेसम्म डिलतिर पोल सारेर रङ्गशाला र विद्यालय जोगाएर टावरको फाउन्डेसन तयार गर्नुस्,’ घिसिङले आयोजना प्रमुख चन्दन घोष, भारतीय ठेकदार कम्पनी लगायतलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि पाँच–दश करोड जतिसुकै खर्च बढोस्, प्राधिकरण व्यहोर्न तयार छ ।’ घिसिङको उक्त निर्देशनसँगै फलेवास रङ्गशाला जोगाएर कोरिडोरको टावर बिस्तारको काम सोमबारदेखि नै सुरु भएको छ ।

घिसिङ सहितको टोलीलाई आइतबारै साँझ फलेवास नगरपालिकामा स्वागत गरिएको थियो । नगरमा आयोजित स्वागत कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक घिसिङले फलेवास नगरको विकासमा प्राधिकरण सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् । ‘हामी उज्यालो नेपाल बनाउने अभियानमा अहोरात्र लागिरहेका छौँ,’ उनले भने, ‘यस पालिकामा पनि कहीँ कतै विद्युत् नपुगेको छ भने हामीलाई तुरुन्तै खबर गर्नुहोस् सामुदायिक विद्युतिकरणको जिम्मा लिन हामी जतिबेलासुकै तयार छौँ ।’ सहर र सहरोन्मुख क्षेत्रमा स्मार्ट लाइट जडानमा स्थानीय सरकारसँग साझेदारी गर्न तयार रहेको प्राधिकरणसँग फलेवासले पनि सहकार्य गरेर उज्यालो फलेवास बनाउने अभियानमा सहकार्य गर्नेमा आफू विश्वस्त रहेको उनको भनाई छ ।

spot_img
spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img