आइतवार, असार १९, २०७९
Sunday, July 3, 2022
spot_img

कविता ‘नारी’

[मन्दाक्रान्ता छन्द ]

नारी आमा मकन ममता प्यार दिन्छिन् अपार
हाँसो भर्छिन् हरपल खुसी दिव्य नारी मुहार ।
छर्छिन् आभा झलमल उनै घामकी हुन् चिनारी
आमा देऊ चरणतलमा झुक्छु तिम्रै पुजारी ।।१।

नारी छोरी मगमग फुली दिव्य छर्छिन् सुवास
सीता गौरी सुमन सरिता नाम प्यारो छ खास ।
हावा पानी कहर नभनी थेग्न सक्ने छहारी
नारी बन्छिन् परघर हुँदा नाम छुट्टै बुहारी ।।२।

लिन्छिन् पीडा अतिशय खपी वाध्यतामा परेर
बाँच्छिन् नारी पलपल मरी लास जस्तो बनेर ।
घुम्छन् व्याधा विहग मनमा त्रास औधी भरेर
मर्छन् नारी विचलित बनी अत्महत्या गरेर ।।३।

नारी आस्था मनमुटु उनै दिव्य लाग्ने भरोसा
नारी संस्था सुगठित बनी बढ्न सक्ने हमेसा ।
पाङ्ग्रो यौटा पुरुष रथको साथ गुड्नेछ गाडी
नारी हाँक्छिन् मुलुक अघि भै हट्ने छैनन् पछाडि ।।४।

चौको छोडी उठ अब तिमी आँट नौलो लिएर
बोक्ने छैनौ कहर मनमा अश्रुधारा पिएर ।
नारी नै हुन् असुरवधनी दिव्य काली समान
नारी श्रष्टा अचल धरणी सृष्टिकी हुन् मुहान ।।५।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img