शुक्रबार, मंसिर १६, २०७९
Friday, December 2, 2022
spot_img

विद्यालयबाट निकालिएका एकान्तवासी सन्यासी

डार्विनलाई जीवनकालमा चुनौती दिने ३ वैज्ञानिक सिद्धान्त

सन् १८४० को दशकसम्म आइपुग्दा पश्चिमा मुलुकहरुमा पृथ्वीको सृष्टिसम्बन्धी एकलौटी मत थियो ।विश्वका बुज्रुकहरुमा एउटा भ्रम थियो कि भगवानले नै यो पृथ्वीको सृष्टि गरे । धर्मअनुसार सृष्टिकर्ताको नाम फरक फरक थियो । जसरी हिन्दू धर्ममा ब्रहृमालाई सृष्टिकर्ताको उपाधि दिने गरिन्छ । त्यसैगरी अरु धर्ममा पनि आ-आफ्नै सृष्टिकर्ताको वर्णन पाइन्छ ।

उनीहरुलाई नै सर्वशक्तिमान र सृष्टिकर्ताको विषयमा चर्चा चलिरहेका बेलामा दुई मित्रहरू एल्फ्रेड वालेस र विलियम बाटसनले इङ्ल्यान्डमा बसेर एउटा प्रश्नको उत्तर खोजी गरे । उनीहरु धार्मिक पण्डितहरुले गरेको तर्कलाई चित्त बुझाउँदैन थिए । दुबै एउटै प्रश्नमा अल्झिएका थिए कि प्रकृतिमा करोडौं जनावरहरू छन्, तिनीहरू कहाँबाट आए ? प्रश्नले भ्रम सिर्जना गर्छ । त्यही भ्रमबाट यथार्थको खोजी हुन्छ । यो नै दर्शनले सिकाउने ज्ञान हो । उनीहरुले पनि त्यही भ्रमबाट एउटा खोजीको सुरुवात गरेका थिए ।

त्यतिबेला उनीहरुले धार्मिक पण्डितहरुलाई यसबारेमा धेरै प्रश्नहरु सोधे । वालेस र ब्याटसनको प्रश्नमा धेरैले भगवानबाट नै यसको सृष्टि भएको उत्तरको भारी बोकाए । दुवैले निर्णय गरे कि यहाँ बसेर यसको सही उत्तर मिल्दैन । त्यसपछि उनीहरु उत्तरहरूको खोजीमा तिनीहरू दक्षिण अमेरिकी महादेश जाने निर्णय गरेर त्यही तर्फ लागे ।

१९ औं शताब्दीमा वैज्ञानिक खोज केवल धनी परिवारका व्यक्तिहरुको खेल मात्रै थियो । तर, वालेस थिए एक गरिब परिवारका व्यक्ति । यद्यपि उनले आफ्नो विवेक लगाएर वैज्ञानिक खोज गर्ने गरेका थिए । उनी जहिलै पनि दूर्लभ कुराहरु खोजी गर्थे भने त्यसैबाट प्राप्त सामान धनी परिवारका व्यक्तिलाई बेचेर त्यसैबाट आएको पैसाले आफ्नो खर्च जुटाउने गर्थे । वैज्ञानिक अनुसन्धानको क्रममा भेटिएका सामग्रीहरुलाई उनले संग्रहालय वा धनी व्यक्तिलाई बेचेर नै विज्ञानको लागि आफ्नो चाहना पूरा गर्ने गरेका थिए ।

वालेस र ब्याटसनको दक्षिण अमेरिकी यात्रा खासै प्रभावकारी भएन । उनीहरु केही महत्वपूर्ण सामग्री बोकेर सन् १८५२ मा बेलायत फर्किने तयारीमा थिए । पछि ती दुई मित्रहरुबीच कुराकानी मिल्न नसकेपछि ब्याटसनलाई छाडेर वालेस एक्लै बेलायत फर्किने तयारीमा लागे ।

पानी जहाजमार्फत् बेलायत फर्किने क्रममा उनी चढेको पानी जहाज दुर्घटनामा पर्‍यो । वालेसले जेनतेन आफ्नो ज्यान त जोगाए । तर, उनले दक्षिण अमेरिकाबाट संकलन गरेका प्रमाणहरु भने जोगाउन सकेनन् । बरु उनले अब कहिलै पानी जहाजमा यात्रा नगर्ने बाचा गरेर बेलायत फर्किए ।

पछि एशिया र अष्ट्रेलियाको बीचमा रहेको टापुमा रहेका महत्वपूर्ण जनावरको बारेमा खोजी गर्नको लागि तत्कालीन बेलायती सरकारले उनलाई प्रस्ताव गर्‍यो । उनी त्यहाँ जान तयार भए । तर, त्यो भन्दा पहिले सोही टापुमा पुगेर खोज गरेर आइसकेका डार्विनसँग उनले केही सल्लाह लिने निर्णय गरे । डार्विनले सोही टापुमा गएर जनावरहरुको अध्ययन गरेर आएका थिए । तर, त्यहाँ भेटिएको विषयबारे कसैलाई पनि कुरा बताएका थिएनन् ।

चाल्स डार्विनको विकासवाद र उनीमाथिको ३ चुनौती

चाल्स डार्विनले सन् १८५९ मा प्रकाशित गरेको द ओरिजिन अफ स्पेसिस बाइ नेचुरल सेलेक्सन नामको पुस्तकमार्फत् उनले विकास वादको सिद्धान्तलाई बहसमा ल्याए । विकासवादको मूल सिद्धान्त भनेको नै समयको साथसाथ जीवहरुमा क्रमिक परिवर्तन हुन्छ भन्ने हो । यस सिद्धान्तले १८ औं शताब्दीसम्म पश्चिमी जीव वैज्ञानिक चिन्तनमा यो विश्वासको जड जमाएको थियो । यही सिद्धान्तमार्फत् नै उनले पृथ्वीमा प्राणीहरुको उत्पत्ति भगवानबाट नभएर क्रमिक रुपमा विकास हुँदै अघि बढेको कुरालाई सार्वजनिक गरियो ।

डार्विनको जीवनको दौरानमा नै उनले जानकारी पाएसम्म तीन वटा झुटा वैज्ञानिक वक्तव्यहरु आए । त्यसो त धर्मशास्त्रका ज्ञाताहरुले पहिलेदेखि नै डार्विनको सिद्धान्तप्रति असहमति जनाउँदै आएका हुन् । विशेषगरी यहूदीहरुको धार्मिक जत्थाले कहिलै पनि उनको त्यो सिद्धान्तलाई स्वीकार गरेन । त्यसलाई डार्विनले कुनै चासो दिएनन् । तर, तीन वैज्ञानिकहरुले उनलाई दिएको चुनौतीलाई भने उनले गम्भीर रुपमा लिएको उनको आत्मकथामा उल्लेख छ ।

जुन वक्तव्यहरु अन्तरार्राष्ट्रिय रुपमा चर्चित पनि भए । त्यसमध्ये एक अमेरिकी कृषि पत्रिकामा प्रकाशित भएको आलोचना हो । जुन हल्याण्डमा बाँझोपनको शिकार भएका अलग अलग प्रजातिका गाई र गोरुको सम्मेलनबाट नयाँ नश्लको विकास भएको कुरासँग सम्बन्धित रहेको उनले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गरेका छन् । डार्विनलाई त्यो विषयमा जानकारी एक अँग्रेजी पत्रिकाका सम्पादकले सोही विषय पुनः प्रकाशित गर्नुपूर्व उनको पनि राय समेट्नको लागि फोन गरेको बेलामा पत्ता लागेको हो ।

डार्विनको सिद्धान्तमाथि दोस्रो शंका भनेको एक लेखकले प्राइमुला -एक किसिमको गुलाब)को विभिन्न प्रजातिसँग सम्बन्धित विषयमा आफूविरुद्ध सिद्धान्त सार्वजनिक गरिएको उनले उल्लेख गरेका छन् । उनले भनेका छन् ‘मैले हेटेरोस्टालिज्मको अर्थ पत्ता लगाउनु अघि नै यो कुरा प्रकाशित गरिएको थियो र यो पूरै कथनमा जालसाजी भएको हुनुपर्दछ ।’

त्यस्तै, उनले जीवनकालमा नै भोगेको तेस्रो आलोचनाको विषय झनै अनौठो छ । एक बेल्जियन लेखक हुथ द्वारा प्रकाशित एक पुस्तक ‘कोन्साङ्गुइनियस म्यारिज’ मा खरायोको सम्मिलन सम्बन्धी विषय उल्लेख गरिएको छ । यो विवरण रोयल सोसाइटी अफ बेल्जियमको एक प्रतिष्ठित जर्नलमा प्रकाशित भएको थियो । डार्विनले त्यो जर्नल र वैज्ञानिकहरुको नाम भने प्रकाशित गरेका छैनन् । उनले कुनै किसिमको अकल्पनीय घटना भएको खण्डमा बाहेक त्यो विषयमा लेखिएको कुरा पनि विश्वास गर्न लायक नभएको उल्लेख गरेका छन् ।

विद्यालयबाट निकालिएका एकान्तवासी सन्यासी

सन् १८०९ को फेब्रुअरी १२ मा जन्मिएका डार्विनको जीवनको संघर्षपूर्ण यात्रा पनि त्यस्तै रोचक छ । जन्मिएको ८ वर्षको उमेरमा आमाको देहावसान भएका डार्विनको जीवनमा धेरै किसिमका आरोह अवरोहहरु भोग्नु पर्‍यो । उनको आत्मकथामा उल्लेख भए अनुसार उनी स्कूल छाड्ने समयसम्म न त धेरै प्रतिभाशाली थिए, न त उनी पूर्ण रुपमा कमजोर नै । विद्यालयमा शिक्षकहरुले एउटा सामान्य विद्यार्थीको रुपमा उनलाई व्यवहार गर्थे । स्कुले जीवनमा हुँदा नै उनले एउटा पुस्तक भेटेका थिए ‘वान्डर्स अफ द वर्ल्ड’ । उनी आफ्नो आत्मकथामा लेख्छन् ‘म प्रायः त्यो पुस्तक पढ्थेँ र साथीहरूसँग यसमा लेखिएका धेरै कुराको सत्यताको बारेमा बहस पनि गर्थें । मलाई लाग्छ कि यो पुस्तक पढिसकेपछि टाढा-टाढाका देशहरूमा यात्रा गर्ने विचार मेरो दिमागमा आयो र यो विचार मैले बिगेलको यात्राबाट सुरु गरेँ ।

उनी विज्ञानमा अति चासो राख्ने व्यक्ति थिए । उनी उत्साहपूर्वक कुनै पनि खनिज पदार्थ भेटे भने त्यसलाई संकलन गरेर आफ्नो स्वामित्वमा राख्ने गर्थे । उनको संकलन धेरै थियो । उनी नयाँ खनिज पदार्थ देख्ने बित्तिकै अवैज्ञानिक तरिकाले भएपनि संकलन गरेर राख्ने गर्दथे। उनी १० वर्षको उमेरदेखि नै कीटपतंगहरुमा ध्यान दिन सुरु भएको थियो । एकपटक साथीहरुसँग वेल्सको समुन्द्री किनारमा घुम्न जाँदा उनले कालो र सिन्दूर रंगका विशाल गोला किराहरु देखेपछि उनको त्यसैमाथि अध्ययन गर्नको लागि उत्सुक हुन थाले । त्यसपछि उनले मरेका किराहरुको संकलन गर्न सुरु गरे । विद्यालयमा पढ्ने समयमा उनी वैज्ञानिक विषयमा एकत्रित भएर खोजी गर्ने गर्थे । यही काममा लाग्दा लाग्दै उनी विद्यालय तहको परीक्षामा अनुत्तीर्ण हुन पुगे । उनको आत्मकथामा भनिएको छ ‘फाल्तु काममा धेरै समय खर्च गरेर पढाइ बिगारेको भन्दै विद्यालयका प्रधानाध्यापक डा. बटलरले सार्वजनिक रुपमा बेइज्जत गर्दै ‘एकान्तवासी सन्यासी’को संज्ञा समेत दिएका थिए । त्यसको अर्थ त्यतिबेला त मैले राम्रोसँग बुझिन । तर, उनले मलाई ठूलै गाली गरेको हो भन्नेमा भने म स्पष्ट थिएँ ।’

उनका बाबुले एकपटक पादरी बनाउने इच्छा राखेका थिए । तर, उनी बिस्तारै धर्मको कट्टर विरोधी बन्दै गए । पछि उनका बाबुले इडिनवर्ग विश्वविद्यालयमा भर्ना गराउँदा उनलाई चिकित्सक बनाउने लक्ष्य राखेका थिए । तर, तिनै डार्विन बाबुको लक्ष्य छाडेर आफ्नो लक्ष्यतिर लाग्दा विश्वले खोजिरहेको विषयमा नयाँ सिद्धान्त प्रतिपादन गर्ने सिद्धान्तकार बनेर निस्किए ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img