आइतवार, जेष्ठ १५, २०७९
Sunday, May 29, 2022
spot_img

‘महामारीमा विज्ञ र अनुसन्धान संस्थाको भूमिका पनि दयनीय देखियो’

न्यूयोर्कको माउन्ट सिनाई अस्पताल र जर्जियाको इन्ष्टिच्युट फर बायोमेडिकल साइन्समा काम गरिसकेका जीवाणु वैज्ञानिक डा. सुदीप खड्का नेपालमा फैलिएको दोस्रो लहर महामारीको मृत्युदर भारतको भन्दा बढी भएको बताउँछन् । भाइरस म्युटेट हुने सम्भावना भएकाले तेस्रो लहर अपेक्षित नै रहेको खड्काको भनाइ छ ।

हाल अमेरिकाकै मेयो क्लिनिकमा कार्यरत खड्का इबोला भाइरसको म्युटेसन, भेरियन्ट, मानव प्रतिरोध क्षमता र औषधिबारे अनुसन्धान गरिरहेका छन् । मेडिकल केमेस्ट्री एण्ड मोलिकुलर फर्माकोलोजीमा विद्यावारिधि खड्कासँग गरिएको कुराकानीको सम्पादित अंश :
नेपालमा दोस्रो लहरमा भएको मृत्यु र संक्रमण स्वाभाविक हो, अन्य देशको तथ्यांकसँग तुलना गर्दा कस्तो अवस्था देखिन्छ ?

अहिलेसम्मको तथ्याङ्क अनुसार नेपालमा जम्मा मृत्युदर १.४ प्रतिशतको हाराहारीमा छ । साढे ६ लाख जति जम्मा संक्रमित हुँदा करीब–करीब ९ हजारको मृत्यु भएको छ ।

अप्रिल १ को मितिलाई यो पछिल्लो लहरको शुरुआत मान्ने हो भने पछिल्लो समयमा देखिएको संक्रमितको संख्या र मृत्युदर दुवै पहिलेको भन्दा निकै उच्च देखिएको छ ।

यो पछिल्लो चरणमा मात्रै साढे ३ लाख भन्दा धेरै संक्रमित भएका छन् भने करीब ६ हजारको मृत्यु भएको छ । पछिल्लो चरणको मात्र मृत्युदर केलाउँदा यो १.७ प्रतिशत देखिन्छ । विगतमा जस्तै अहिले पनि रेकर्ड गर्न छुटेका मृतकको संख्या पछि जोडिएमा अझै उल्लेख्य वृद्धि हुने सम्भावना छ ।

तर यो पछिल्लो चरणको संक्रमण अझै सकिएको छैन । अझै दैनिक हजारौंको संख्यामा संक्रमित फेला पर्दैछन् भने संक्रमणदर पनि दुई महीनाको लकडाउन बावजूद अझै २० प्रतिशतको हाराहारीमा छ । त्यसैले अझै मृतक संख्या र मृत्युदर बढ्ने देखिन्छ । यो चरण नियन्त्रणमा आउँदासम्म पछिल्लो मृत्युदर करीब २ प्रतिशतको हाराहारीमा हुने अनुमान गर्न सकिन्छ ।

यो सबै अन्यत्र देखिएको भन्दा फरक छ । अन्य मुलुकमा पछिल्ला लहरमा संक्रमितको संख्या बढ्दै गर्दा पनि संक्रमितको मृत्युदर भने घटेको थियो । प्रशस्त तयारी, स्वास्थ्य संस्थाको सबलीकरण, उपचार पद्धतिको विकासले गर्दा मृत्युदर कम हुन पुग्यो । तर, हाम्रो अवस्था हेर्दा ठ्याक्कै उल्टो छ ।

सम्भावित संक्रमितको पहिचान, परीक्षणको दायरा वृद्धि, गतिलो कन्ट्याक ट्रेसिङ लगायत कुरा गर्न सकिएन भने फेरि यो सुषुप्त भुंग्रोबाट ज्वालाको रूप धारण गर्न बेर लाग्दैन ।

धेरै देशमा लकडाउन जस्ता नियमनले संक्रमण दर घट्दै गए पनि खुकुलो बनाउँदा साथ संक्रमितको संख्या पुनः बढेको थियो । अहिले झन् नेपालमा नयाँ भेरियन्टको प्रकोप बढ्दै गर्दा संक्रमितको संख्या फेरि उकालो लाग्ने त हैन भन्ने डर छ ।

यो चरण शुरू हुनुभन्दा पहिला मृत्युदर १ प्रतिशतको हाराहारीमा थियो । सरसर्ती हेर्दा १ प्रतिशतबाट २ प्रतिशत पुग्नु धेरै जस्तो नदेखिए पनि, मृत्युदर मात्रै हेर्दा यो शतप्रतिशत वृद्धि हो । यो निकै भयावह स्थिति हो । अधिकांश मृत्यु उपचार अभावले भएको थियो । अहिले पनि उपचार क्षमतामा उल्लेख्य वृद्धि भएको अवस्था छैन, केवल लकडाउन सृजित अवस्थाले संक्रमितको संख्या घटेको छ र स्वास्थ्य सेवा सहज बन्न पुगेको छ । तर फेरि संक्रमितको संख्या उकालो लाग्नासाथ पहिले जस्तै अभाव र जथाभावी उपचारले थुप्रै व्यक्तिले ज्यान गुमाउने अवस्था सृजना हुने सम्भावना उस्तै छ ।

निषेधाज्ञा खुकुलो भइसकेको अवस्थामा समुदायमा सक्रिय संक्रमित धेरै छन्, दोस्रो लहर उत्कर्षमा पुगेपछि महामारीमा अब आउन सक्ने सम्भावित जोखिम के के हुन् ?

दुई महीनाको निषेधाज्ञापश्चात् पनि अझै हाम्रो संक्रमितको संख्या र संक्रमणदर उच्च नै छ तर दुवै संख्यामा ओरालो भने लाग्दैछ । गम्भीर बिरामी र मृतकको संख्या क्रमशः ओरालो लाग्दै गरे पनि स्थिति पूरै नियन्त्रणमा अझै छैन । दिनानुदिन विभिन्न क्षेत्रमा अप्रत्यासित चाप र सो अनुरूपको व्यवस्थापन गर्न नसकेको पाइएको छ । यी सबै कुराले के इंगित गर्छन् भने हामीले अझै पनि महामारीको वास्तविक संख्यात्मक विस्तारको अनुगमन गर्न सकेका छैनौं ।

अब क्रमिक रूपमा निषेधाज्ञाको अन्त्य गर्दै गर्दा पनि हामीले सही अनुगमन गर्न सकेनौं भने फेरि यो संक्रमण नजानिंदो पाराले विस्फोट हुने डर हुन्छ । सम्भावित संक्रमितको पहिचान, परीक्षणको दायरा वृद्धि, गतिलो कन्ट्याक ट्रेसिङ लगायत कुरा गर्न सकिएन भने फेरि यो सुषुप्त भुंग्रोबाट ज्वालाको रूप धारण गर्न बेर लाग्दैन ।

थुप्रै राष्ट्रमा अकस्मात् संक्रमण वृद्धिपश्चात निषेधाज्ञा, त्यसको कारण संक्रमणको विस्तारमा कमी, अनि फेरि केही खुकुलो हुनासाथ लापरबाही र झन् ठूलो संक्रमण विस्तार भइरहेको छ । हामीले यो सबैबाट पाठ सिक्न जरूरी छ । अति उच्च संख्यामा संक्रमण हुँदा समेत परीक्षण २०–२५ हजारभन्दा धेरै भएन, तर अब निषेधाज्ञा खुला गर्न थालेसँगै तह तहमा परीक्षण गर्न जनशक्ति परिचालन गरेर संक्रमण विस्तार रोक्न जरूरी छ ।

spot_img
- Advertisement -spot_img
ट्रेन्डिङ
- Advertisement -spot_img