निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, भदौ ३०, २०८१
Sunday, September 15, 2024

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वतमा डेंगु संक्रमितहरू बढ्दै

पर्वत : वर्षा र गर्मीका कारण लामखुट्टेको प्रकोप बढ्दै जाँदा पर्वतमा डेंगु संक्रमितहरूको ‘ग्राफ’ हरेक दिन उकालो लाग्दै गएको छ।

पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार यही साउन २ गतेदेखि साउन २२ गतेसम्म २१ दिनमा नै ५६ जना विरामीमा डेंगु पुष्टि भएको छ। 

साउन २, ३ र ५ गते १/१ जनामा डेंगु पुष्टि भएकोमा त्यसपछिका दिनमा भने विरामीको संख्या दैनिक रूपमा उकालो लाग्दै गएको छ।

साउन ६ गते ३ जना, ७ गते एकजना, १० गते ५ जना, ११ र १२ गते १/१ जना, १३ गते ३ जना, १५ गते ६ जना डेंगु पुष्टि भएको हो। 

साउन १६ र १७ गते ३/३ जना, १८ गते ६ जना, १९ गते २ जना, २० गते ६ जना, २१ गते ४ जना र २२ गते सबैभन्दा बढी एकै दिनमा ९ जनामा संक्रमणको पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले बताए।

गर्मी याम र वर्षाका कारण लामखुट्टेमैत्री वातावरण तयार हुँदा लामखुट्टेको प्रजनन बढेको र यसले संक्रमण बढाइरहेको हो। अस्पतालमा आउने उच्च ज्वरोका विरामीहरू बढिरहेको र उनीहरूमध्ये नै डेंगुको संक्रमण पुष्टि भएको हो। 

पर्वत अस्पताल वा जिल्लाका अन्य सरकारी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउने क्रममा डेंगुको संक्रमण पुष्टि भएकाहरूको तथ्यांक आउने भए पनि जिल्लाबाहिर गएर उपचार गर्ने तथा निजी स्वास्थ्य संस्थामा पुगेर उपचार गराउनेहरूको विवरण भने पर्वत अस्पताल वा स्वास्थ्य कार्यालयमा आउँदैनन्।

यही कारण अहिले पर्वत अस्पतालमा पुष्टि भएका ५६ जनाबाहेक जिल्लाका अन्य स्थानहरूमा पनि डेंगुका विरामीहरूको संख्या बढिरहने अवस्था छ। 

जिल्लाको उच्च गर्मी हुने तथा सदरमुकाम कुश्मा बजारबाट टाढाको दूरीमा रहेको पैयुँ गाउँपालिकाका बासिन्दाहरू उपचारको लागि स्याङ्जाको वालिङ बजारमा जाने गरेका छन्। 

पैयुँ र आसपासको क्षेत्रका नागरिकमा डेंगु संक्रमण भएको भएमा त्यो विवरण यसमा समावेश नभएकाले डेंगुको संक्रमण भित्रभित्रै फैलिएर आम नागरिक जोखिममा रहेको हुन सक्ने स्वास्थ्यकर्मीहरू बताउँछन्।

स्वास्थ्य कार्यालय, पर्वत अस्पताल र स्थानीय तहहरूले पनि डेंगु रोकथामको लागि प्रचारप्रसार गरिरहे पनि लामखुट्टेको टोकाई र संक्रमण भने बढिरहेको छ। 

लामखुट्टेको प्रकोप बढ्दा पानी पोख्ने अभियानसमेत चलाइएको थियो। स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले विहान र बेलुकाको समयमा जिल्लामा रहेको सबै सरकारी तथा गैर सरकारी निकाय, स्थानीय तहका सबै वडा, स्वास्थ्य संस्था, विद्यालय, ग्यारेज, वर्कशप, कबाडी संकलन केन्द्र, नागरिकका घर तथा पसलसहित समुदायमा रहेका पानी जम्ने खाल्डाखुल्डी, ताल, पोखरी, झाडी सबै ठाउँमा सरसफाइको अभियान चलाइएको र यसलाई निरन्तरता दिनुपर्ने बताए।

गत वर्ष २२५ जनामा डेंगु संक्रमण भएको भन्दै उनले घर आसपासमा रहेको फोहोर, झाडी, नहल्लिने गरेर जमेको पानीलगायतका कारण लामखुट्टेले फुल पारेर बच्चा संख्या वृद्धि हुने लामखुट्टेको टोकाइ बढ्दा डेंगुको जोखिम पनि झन् झन् बढ्दै जाने भएकोले सचेत हुन जिल्लावासीमा अनुरोध गरे।

लामखुट्टेको टोकाइबाट बच्न आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाइबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, विहान, दिउँसो, राति जुनसुकै वेला झुल लगाएरमात्र सुत्ने, पूरै शरीर ढाक्ने गरी लुगा लगाउनेलगायतका उपाय अवलम्बन गर्नुपर्ने चिकित्सहरुको सुझाव छ।

उच्च ज्वरो आउने, जोर्नी र मांसपेशीहरू बेस्सरी दुख्ने, आँखाको गेडी दुख्ने, बेस्सरी टाउको दुख्ने, शरीरमा राता बिमिराहरू आउने, वाकवाकी लाग्ने वा वान्ता हुनेलगायतका लक्षणहरू देखिए डेंगु भएको हुन सक्ने भएकाले नागरिकले समयमा नै स्वास्थ्य परीक्षण गराउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ। 

एडिज जातको लामखुट्टेले विहान र साँझको समयमा टोक्ने सम्भावना बढी हुने भएकोले दिउँसोभन्दा विहान र साँझको समयमा झनै सचेत हुनुपर्ने उनको भनाइ छ। थाहा खवर वाट साभार गरिएको

spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img