१४ बैशाख /
जिल्ला प्रशासन कार्यालय पर्वत लगायत जिल्लाका विभिन्न सरकारी तथा सरकारी स्वामित्वका निकायहरुले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएका छन् । जिल्ला प्रशासन कार्यालय सहित करदाता सेवा कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, मालपोत कार्यालय, जिल्लाका सात वटै स्थानीय तह, भेटेरीनरी तथा पशुसेवा विज्ञ केन्द्र, खानेपानी तथा सरसफाई इकाई कार्यालय, नेपाल विद्युत प्राधिकरण, मोदीखोला जलविद्युत केन्द्र, पुष्पलाल मध्यपहाडी लोकमार्ग, जिल्ला भित्र सञ्चालित सम्पूणर् बैंक तथा वित्तीय संस्था अस्पताल लगायतका कार्यालयहरुले शनिबारबाहेकको सार्वजनिक बिदाका दिन आवश्यक सेवा दिने भएका हुन् ।
वैशाख २२ गते उभौली पर्व, चण्डी पूर्णिमा र बुद्ध जयन्ती, जेठ १५ गते गणतन्त्र दिवस, भदौ १४ गते रक्षाबन्धन, भदौ २० गते श्रीकृष्ण जन्माष्टमी, असोज २८ गते घटस्थापना, पुस नौ गते क्रिसमस डे, पुस १० गते उधौली पर्व, योमरी पुन्ही र ज्यापु दिवस, पुस १५ गते तमु ल्होसार, पुस २७ गते पृथ्वी जयन्ती परेका छन्। यस्तै माघ एक गते मनाइने माघी पर्व, माघ २७ गतेको सोनाम ल्होसार, फागुन एक गतेको जनयुद्ध दिवस, फागुन सात गते राष्ट्रिय प्रजातन्त्र दिवस, फागुन २५ गते महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय महिला दिवस र आउने समयमा निर्धारण हुने गरी इद उल फित्र, इद उल अजहाको अवसरमा सार्वजनिक बिदा दिइने छ।
ती बिदाका दिनमा नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवाहरू जिल्ला प्रशासन कार्यालयले, कर राजश्व, उद्योग वाणिज्य, मालपोत र नापी सम्बन्धी कामहरू करदाता सेवा कार्यालय, पर्यटन तथा उद्योग कार्यालय, मालपोत कार्यालय र नापी कार्यालयले प्रवाह गर्ने छन्।
नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप विभिन्न १६ वटा विदा तथा पर्वहरुमा सेवा सञ्चालन गर्ने र नियमित सेवा प्रवाह गर्ने गरी सुचित गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद आचार्यले बताउनुभयो ।
सेवाग्राहीको उच्च चाप, न्यून जनशक्ति, कमजोर पुर्वाधार लगायतका अनेक चुनौतीका बावजुत कार्यान्वयनमा ल्याउन खोजिएको उक्त परीक्षण हाललाई पूणर् कागजातसहित सम्बन्धित शाखाले रुजु गरेको एक घण्टाभित्र नै सेवाग्राहीलाई सेवा दिन थालिएको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ ।









