पर्वत : जिल्लाको जलजला गाउँपालिकाले प्राविधिक शिक्षामा अध्ययनरत तथा उत्कृष्ट जी.पि.ए. प्राप्त गरेका दलित विद्यार्थीहरूलाई नगर पुरस्कार सहित सम्मान गरेको छ ।
‘समतामूलक समाज जलजलाको सार : कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न पक्षहरूमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्दै आइरहेको पालिकाले दलित समुदायका विद्यार्थीहरूको प्रोत्साहनको लागि पुरस्कार सहित सम्मान प्रदान गरेको हो। गाउँपालिकाको सभा हल लामाखेतमा आयोजना भएको कार्यक्रममा तीन वटा फरक–फरक विधाका ३२ जना विद्यार्थीहरूलाई पुरस्कार र सम्मान वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिकृष्ण आचार्यले बताए ।
उनका अनुसार प्राविधिक शिक्षामा अध्ययनरत रविना बि.क., राजेश बि.क., सङ्गम परियार लामिछाने, सौगात परियार, प्रिया नेपाली, सोनिया नेपाली र आयुष्मा परियारले प्रतिव्यक्ति २० हजार रुपैयाँका दरले छात्रवृत्ति पुरस्कार पाएका छन् । यस्तै स्नातक तहमा अध्ययनरत आयुष्मा सुनामले ३० हजार रुपैयाँ पुरस्कार पाएकी छिन् । उनीहरूका लागि एक लाख ७० हजार रुपैयाँ वितरण भएको हो ।
यस्तै २०८१ सालको माध्यमिक शिक्षा परीक्षामा गाउँपालिकाभरबाट सबैभन्दा जी.पी.ए प्राप्त गरेका एक जना छात्र र एक जना छात्रालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका दरले पुरस्कार दिइएको छ । उनीहरू ३.६७ जी.पी.ए ल्याएको जलजला–७ का अमन बि.सी र ३.५७ जी.पी.ए ल्याएकी जलजला–१ की रोशनी नेपाली रहेका छन् । सोही कार्यक्रममा शैक्षिक सत्र २०८१ को एस.इ.ई. परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका सामुदायिक विद्यालयमा अध्ययन गरेका दलित विद्यार्थीहरूलाई पनि सम्मान गरिएको छ । गाउँपालिकाभरिबाट कुल ६३ जना दलित विद्यार्थीहरूले सामुदायिक विद्यालयबाट एस.इ.ई.मा सहभागी भएको भए पनि कार्यक्रममा सहभागी भएका २२ जनालाई सम्मान गरिएको हो ।
दलित विद्यार्थीहरूको प्राविधिक शिक्षामा सहभागिता बढाउन र उनीहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले लक्षित वर्गको कार्यक्रमको अन्तर्गत सम्मान र पुरस्कार वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले विद्यार्थीहरूलाई नगदसहित सम्मान पत्र प्रदान गरे । उनले शिक्षामार्फत समावेशी र समानतामूलक समाज निर्माणमा सबैले आ–आफ्नो भूमिकामा इमानदारीपूर्वक लाग्नुपर्नेमा जोड दिए। कार्यक्रममा शिक्षक शान्ता नेपालीले ‘क्यारियर गाइडेन्स’ सम्बन्धी अभिमुखीकरण पनि गरिएको छ ।
गाउँपालिकाका अनुसार यस्ता कार्यक्रमहरूले दलित समुदायका बालबालिका र किशोर–किशोरीलाई शिक्षामा उत्प्रेरित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । कार्यक्रममा गाउँपालिका भित्रका विभिन्न विद्यालय र प्राविधिक संस्थामा अध्ययनरत दलित विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
बिहिबार, असार १८, २०८३
Thursday, July 2, 2026









