पर्वत : लायन्स क्लब अफ पर्वत गुप्तेश्वरले पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्ति वितरण गरेको छ ।
‘छोरी पढाऔँ अभियान’ अन्तर्गत विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार विद्यार्थीहरुमध्येका पाँच जना विद्यार्थी छनोट गरेर छात्रावृत्ति रकम प्रति विद्यार्थी दुई हजार रुपैयाँका दरले वितरण गरिएको हो ।
लायन्स क्लब अफ पर्वत गुप्तेश्वरकी पूर्व अध्यक्ष भई हाल अमेरिकामा रहनुभएकी मुना शर्मा लामिछाने र द्रौपता लामिछानेद्धारा स्थापित छात्राबृति अक्षयकोष बाट प्राप्त भएको ब्याज पाँच हजार रुपैयाँ र बाँकी रकम क्लबका अध्यक्ष धनराज बी पौडेलेको सहयोगमा १० हजार रुपैयाँ छात्रावृत्ति स्वरुप वितरण गरिएको हो । उक्त अक्षयकोष स्वर्गीय काशिराम लामिछाने स्मृतिमा स्थापना गरिएको हो ।
उक्त रकम लामिछानेकी सासु आमा द्रौपता लामिछाने सहित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद शर्मा, लायन्स क्लब डिस्ट्रिक कोअर्डिनेटर अर्जुन पौडेल ‘निर्जन’, लायन्स क्लबका जोन चियर पर्सन डासीराम अधिकारी, लायन्स क्लब अफ पर्वत गुप्तेश्वरका अध्यक्ष धनराज बी पौडेल, उपाध्यक्षहरु गणेश पौडेल, शुभन्तनाथ सुवेदी र डम्बर गिरी तथा विद्यालयका प्रधानाध्यापक प्रकाश रिजाल विद्यार्थीहरुलाई हस्तान्तरण गर्नुभयो ।
पाँचै जना विद्यार्थीहरुलाई क्लबका अध्यक्ष धनराज बी पौडेलले सौजन्य गर्नुभएको स्टेशनरी सामग्रीहरु समेत वितरण गरिएको छ । बिभिन्न सामाजिक कार्यक्रमहरु गर्दै आइरहेको क्लबले आगामी दिनमा यस्तै कामहरुलाई निरन्तरता दिने पौडेलको भनाई छ ।
आफ्नो विद्यालयका विद्यार्थीहरुलाई छात्रावृत्तिका लागि छनोट गरेकोमा विद्यालयका प्रधानाध्यापक रिजालले क्लबप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।