पर्वत : १५ औँ अमर टीका स्मृति दिवस–२०८३ अन्तर्गत विभिन्न कार्यक्रम गर्ने गरी पञ्च दिवसीय कार्यक्रमहरू सुरु भएका छन् । विश्व प्रसाईँ फाउन्डेसन नेपाल र अमर टिका फाउन्डेसन नेपालको संयुक्त आयोजनामा ‘राष्ट्रिय समृद्धिको लागि एकीकृत अभियान : अध्यात्म, विज्ञान र राजनीतिको संयोजन’ भन्ने मूल आदर्शका साथ स्थापना भएका फाउन्डेसनहरुले पाँच दिनसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेका हुन् । विश्वेश्वर प्रसाद कोइरालाको ४४ औँ स्मृति दिवस, पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस तथा टिका बहादुर प्रसाईँको १६ औँ स्मृति दिवसको अवसर पारेर पञ्च दिवसीय कार्यक्रमहरूको आयोजना गरिएको हो ।
पहिलो कार्यक्रम अन्तर्गत ४४ औँ वि.पि. स्मृति दिवसको अवसर पारेर बुधवार कुश्मामा ‘वि.पी.को परिकल्पना ः नेपाली काँग्रेसको वर्तमान र भविष्य विषयक’ रेडियो संवाद कार्यक्रम सम्पन्न भएको छ । विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू, सामाजिक अगुवा, पत्रकार लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो । यस्तै बिहीबार परेको ४८ औँ पुष्पलाल दिवसको स्मृतिमा कुश्मामा नै रेडियो संवाद कार्यक्रम सम्पन्न भएको छ । ‘पुष्पलालको परिकल्पना ः नेपालमा कम्युनिस्ट पार्टीको वर्तमान र भविष्य’ शीर्षकमा भएको कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रमुखहरू, सामाजिक अगुवा, पत्रकार लगायतको सहभागिताका रेडियो संवाद कार्यक्रम सम्पन्न भएको हो ।
पञ्च दिवसीय कार्यक्रम अन्तर्गत शुक्रवार १५ औँ अमर टिका स्मृति दिवसको अवसरमा रत्ननगर नगरपालिका–११ चितवनमा रहेको गामवेशी चेपाङ सामुदायिक केन्द्रमा शैक्षिक तथा खाद्य सामग्री सहयोग गर्ने कार्यक्रम रहेको छ । केन्द्रमा रहेका चेपाङ बालबालिकाहरूको अध्ययनमा सघाउ पु¥याउने उद्देश्यले चेपाङ बस्तीमा पुगेर यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । शुक्रवार नै महायोगी सिद्ध बाबा आध्यात्मिक प्रतिष्ठान, चितवनमा व्यक्तित्व समीक्षा, विशेष सम्मान एवं श्रद्धा सुमन कार्यक्रमको आयोजना गरिएको छ । सोही दिनमा नै चितवनकै चेपाङ सिद्धी छात्रावासमा रहेका बालबालिकाहरूलाई शैक्षिक तथा खाद्य सामग्री सहयोग गर्ने कार्यक्रम राखिएको छ ।
साउन ९ गते १५ औँ अमर टिका स्मृति दिवसको अवसरमा सिताराम मन्दिर देवघाट तनहुँमा व्यक्तित्व समीक्षा, आध्यात्मिक प्रवद्र्धन एवं विशेष भन्डाराको आयोजना गरिएको छ भने साउन १० गते पोखरा महानगरपालिका–१५ तल्लो नयाँ गाउँमा प्रतीक्षालय उद्घाटन तथा सामाजिक राहत सहयोग वितरण कार्यक्रमको आयोजना गरिएको दुवै संस्थाका संस्थापक अध्यक्ष विश्वप्रकाश प्रसाई ‘रेशम रामदास’ले बताए ।
बिहिबार, साउन ७, २०८३
Thursday, July 23, 2026









