२०८० माघ १६ गते,
कुश्मा, पर्वत ।
७८औं शहिद दिवसको अवसरमा पर्वत सदरमुकाम कुश्मावजारमा एक विशेष समारोहका विच राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा लगायत शहिद परिवारलाई सम्मानको साथ विभिन्न संघसंस्थाहरुलाई राहात सहयोग प्रदान गरिएको छ ।
विगत ३० वर्ष देखि सामाजिक क्षेत्रमा क्रियाशिल राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको मुल आयोजना, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड, विश्व प्रसाई वि.पी. फाउण्डेशन, नेपाल, अमरटिका प्रतिष्ठान नेपाल, नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेड पर्वत, रोटरी क्लव अफ पर्वत, इनरह्वील क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत, रोट्याक्ट क्लव अफ पर्वत पोखरा र समृद्ध मिडिया ग्रुपको सहआयोजनामा शहिद दिवस विशेष कार्यक्रम आयोजना गरिएको हो ।

जहानिया राणा शासनको विरुद्ध जीवन वलिदान गर्ने प्रथम शहिद लखन थापा देखि शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठ देखि लोकतान्त्रिक आन्दोलनका ज्ञात अज्ञात शहिदहरुको स्मरण र सम्मानमा आयोजित कार्यक्रममा शहिद परिवार सदस्य एवम् राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीलाई वधाईको साथ सम्मान गरिएको थियो भने शहिद गोविन्दनाथ शर्माको भाई हेम शर्मा पौडेल र देव शर्मा पौडेल, प्रजातन्त्र सेनानी हरिप्रसाद शर्मालाई उहाँहरुले लोकतन्त्र प्राप्तिको लागि गर्नु भएको योगदानको कदर स्वरुप सम्मान गरिएको थियो ।
शहिद दिवसलाई भाषणमा मात्र सिमित नराखी जिल्लामा क्रियाशिल विभिन्न सामाजिक संघसंस्थालाई आर्थिक सहयोग समेत प्रदान गरिएको छ । कार्यक्रममा रोटरी क्लव अफ पर्वतलाई रु ३० हजार, रोट्याक्ट क्लव अफ पर्वतलाई रु ४० हजार, इनरह्वील क्लव अफ पर्वतलाई रु २० हजार, राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठानलाई रु २५ हजार र अल्पेश्वर गुफा व्यवस्थापनलाई रु १५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो । यसको साथै उपचार खर्च वापत विभिन्न विरामीलाई आर्थिक सहयोग गरिएको छ । शहिद दिवसको अवसरमा कुनपा वडा नं. १ का प्रकाश सुवेदीलाई र मोदी गा.पा. वडा नं. ७ निवासी जलन हमाललाई १२ हजार रुपैयाँ उपचारर्थ सहयोग प्रदान गरिएको छ । यि सवै आर्थिक सहयोगको स्रोत व्यवस्थापन आयोजक संस्था नेष्डो नेपालले गरेको हो ।

कार्यक्रममा स्वागतको साथ उद्देश्य माथि प्रकाश पार्दै नेष्डो समृद्ध समूहका अध्यक्ष विश्व प्रकाश प्रसाईले सहिदको सम्मानसम्म गर्न नसेकेमा कसरी समृद्ध देशको कल्पना गर्न सकिन्छ भन्दै राज्यको तर्फवाट सहिदहरुको योगदानको सम्मान हुन नसक्नु दुखद भएको वताउनु भयो । जिल्लामा कहीं कतैवाट शहिदको सम्मानको कार्यक्रम आयोजना नभए पश्चात हतारमा कार्यक्रम आयोजना गरिएको भन्दै कार्यक्रमको उपस्थितीले सहितको सम्मान र आयोजकले साथ पाएको वताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथिको आसनवाट वोल्दै राष्ट्रिय सभा सदस्य मनरुपा सुवेदीले शहिद राष्ट्रको सम्पत्तिको रुप भएको भन्दै द्वन्दको दिर्घकालिन व्यवस्थापन र शहिद परिवार, घाईते र द्वन्द प्रभावितको हक हितमा आँफु लागी पर्ने वताउनु भयो । आँफु वजेट वाँडने भन्दा कानून निर्माण गरी हरेक जनतालाई लोकतन्त्रको अनुभुति दिलाउन प्रयासरत रहने उहाँको प्रतिवद्धता थियो । शहिद दिवसलाई राज्यले पनि संझनु पर्ने भन्दै नेष्डो नेपालले कार्यक्रमको आयोजना गरेकोमा खुशी पनि व्यक्त गर्नु भयो ।
कार्यक्रमका नेपाली कांग्रेसका उपसभापति चुडमणी शर्माले सरकारले सहिद दिवसलाई स्मरण नगर्नु दुःखद भएको भन्दै एउटा सामाजिक संस्थाले राज्यले गर्नुपर्ने भुमिका निर्वाह गरेकोमा खुशी व्यक्त गर्नु भयो । नेपालको राजनीतिक परिवर्तन र विकास निर्माणमा कांग्रेसकोअ अग्रणी योगदान रहे पनि ससाना कुरामा चुक्न नहुने उहाँको भनाई थियो ।
यसै गरी नेकपा एमालेका अध्यक्ष राजु पौडेलले अहिले राष्ट्रमा दलिय प्रतिसोध भन्दा सदभावको खाँचो रहेकोले मिलेर अगाडी वढनु पर्नेमा जोड दिनु भयो । यसै गरी नेकपा माओवादीको प्रतिनिधित्व गर्दै सविधान सभा सदस्य गुणाखर वस्यालले इतिहासमा सवै पाटीले आआफ्नै किसिमले युद्ध गर्दै आएको भन्दै माओावदी जनयुद्दलाई मात्र फरक दृष्टिकोणले हेरेर व्याख्या गर्न नहुने वताउनु भयो । सवैको सदभाव र सहकार्यको खाँचो रहेको उहाँको भनाई थियो । नेकपा एकिकृत समाजवादीका सचिव गणेश पौडेलले शहिदहरुको योगदानले प्राप्त लोकतन्त्र माथि एक दुई अराजकहरुले औला ठडाउनु आपत्तिजनक रहेको वताउनु भयो ।
कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सहिदको सम्मानवाट मात्र देशको समृद्धी संभव भएको वताउनु भयो । उहाँले सवै कालखण्डका सहिदहरुलाई छुट्टाछुट्टै दिवस संभव नहुने भन्दै एकिकृत रुपमा सहितप्रतिको सम्मानको लागि आयोजकलाई धन्यवाद दिनु भयो । कार्यक्रममा सम्मानित सहिद परिवारको तर्फवाट गोविन्दनाथका भाई हेम शर्मा पौडेलले एउटा सामाजिक संस्थाले शहिद दिवस समारोह आयोजना गरी ऐतिहासिक योगदानको सम्मान गर्नु सह्रानीय पक्ष रहेको वताउनु भयो ।
नेष्डो नेपालका संस्थापक अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश प्रसाईको अध्यक्षतामा सम्पन्न कार्यक्रम नेपाल प्रेस युनिएन पर्वतका अध्यक्ष उत्तम प्रसाद अधिकारीको धन्यवाद एवम् सञ्चालन सञ्चारकर्मी ठाकुरी रसाईली गर्नुभएको थियो ।









