१ बैशाख २०८२ पर्वत /कालीगण्डकी नदीले बगाएर बेपत्ता भएकी पर्वतको महाशिला गाउँपालिका वडा नं ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्तको शव भेटिएको छ । बाग्लुङको जैमिनी नगरपालिका-५, बिनामारे स्थित कालीगण्डकीको किनार निरिङे घाटमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक रबिन बिष्टले जानकारी दिए । पन्तको शव पोष्टमार्टमका लागि धौलागिरी अस्पताल बाग्लुङ पठाइएको उनले बताए ।
पर्वतको कुश्मा नगरपालिका वडा नं. ५ मोदीवेणी स्थित कालीगण्डकी नदि किनारमा स्नान गरेर फर्किने क्रममा भिडियो खिच्न लाग्दा आज विहान ९ बजेको समयमा ढुंगा चिप्लिएर लड्दा कालीगण्डकीले बगाएर उनी बेपत्ता भएकी थिइन् । बेपत्ता पन्तको नेपाल प्रहरी, सशस्त्र प्रहरी र आफन्तले खोजी गरेका थिए ।
मोदीवेणी धाममा नयाँ वर्ष तथा वैशाखे संक्रान्तिको अवसरमा कालीगण्डकी स्नान गर्नका लागि विभिन्न जिल्लाका भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ ।








