पर्वत/ कुश्मा घुम्न आएका अष्ट्रेलियन पर्यटकको पासपोर्टसहितको झोला खोसेर बाँदर वेपत्ता भएपछि पर्वत प्रहरीलाई तनाव भएको छ । बस्तीहरुमा पसेर आतंक मच्चाउने बाँदरको यो हर्कतले पर्यटन क्षेत्रमा समेत आतङ्क सिर्जना गरेको छ ।
पर्वतको बन्जी जम्प नजिकबाट गाडीको छतमा रहेको पासपोर्टसहितको झोला बाँदरले लिएर भिरतिर भागेको ती पर्यटकले बताएका छन् । अष्ट्रेलियन नागरिकसहित नेपालकै अर्का एक पर्यटकको पनि सोही झोलामा रहेको पासपोर्ट बाँदरले लगेको छ ।
पासपोर्ट बाँदरले लगेको जानकारी गराएपछि खोजीका लागि प्रहरी खटाइएको पर्वत प्रहरी प्रमुख डीएसपी विजय यादवले जानकारी दिए ।
उनका अनुसार शनिबार र आइतबार खोजी गर्दा पनि भेटिएको छैन । ‘हिजो उहाँहरू मुक्तिनाथ जान निस्किनुभएको रहेछ गाडीमा । कुश्मामा बन्जी घुम्न गएको बेलामा झोला गाडीको छतमा राखिएको रहेछ,’ उनले भने, ‘फर्किँदा उक्त झोला नरहेको र बाँदरले लगेको जानकारी गराउनुभएको छ ।’
खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको थियो । ‘हिजो सई सावको नेतृत्वमा ७ जना पठाएका थियौँ । आज सशस्त्र पनि जानुभयो,’ यादवले भने, ‘तर भेटिएको छैन । जङ्गलतिर होला भनेर खोजिएको हो । भीरहरू छ, छिर्नै गाह्रो छ ।’
उक्त पासपोर्टसहितको झोला नभेटिएपछि उनीहरुले प्रहरीमा निवेदन समेत दर्ता गरेका छन् । खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘खोज्नका लागि हामी सक्दो प्रयास गरिरहेका छौँ । यदि पाइएन भने नयाँ प्रक्रियाबाट पासपोर्ट लिनुपर्छ,’ डीएसपी यादवले भने ।








