१ पौष,पर्वत – पौष ९ गतेदेखी १९ गतेसम्म सञ्चालन हुने आठौं पर्वत महोत्सवको तयारी तिव्र रुपमा अघि बढेको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजनामा ८औँ पर्वत महोत्सव सञ्चालन हुँदैछ ।
महोत्सवका लागि आवश्यक भौतिक संरचना, स्टल निर्माण लगायतका कामहरू धमाधम भैरहेको आयोजकले जनाएको छ । स्थानीय कला, संस्कृति, कृषि, उद्योग, पर्यटन र परिकारको प्रवद्र्धन गर्दै पर्वत जिल्लालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवमा विविध सांस्कृतिक कार्यक्रम लोक नाच, संगीत प्रस्तुति, नाटक, भजन, रत्यौली, जातजातीका झाकी प्रस्तुति, लोक दोहोरी गीत प्रतियोगिता र टिकटक÷सोसल मिडिया च्यालेन्ज आयोजित छन्। यसैगरी, औद्योगिक तथा व्यापारिक प्रदर्शनी मार्फत स्थानीय उत्पादन, कृषि प्रविधि, हस्तकलाका वस्तु, लघु घरेलु उत्पादन, पशुजन्य तथा वनजन्य उत्पादन प्रदर्शनी र बिक्री हुनेछ ।

महोत्सवमा गण्डकी प्रदेशस्तरीय औद्योगिक प्रदर्शनी, उत्कृष्ट स्टल पुरस्कार, बाल उद्यान र मनोरञ्जनात्मक कार्यक्रम, पर्वतका प्रसिद्ध पर्यटकीय स्थलहरूको जानकारी, भलिबल प्रतियोगिता, विद्यालय स्तरीय खेलकुद प्रतियोगिता र जानकारी प्रविधि प्रदर्शनी पनि रहनेछ। पर्वत उद्योग वाणिज्य संघका सदस्य, लघु घरेलु तथा महिला उद्यमीका स्टलमा भाडामा छुटको व्यवस्था गरिएको छ ।
पर्वत उद्दोग वाणिज्य संघका अध्यक्ष ठाकुर वि पौडेलले भने, “महोत्सवले केवल सांस्कृतिक मनोरञ्जन मात्र होइन, स्थानीय व्यवसाय, कृषि र पर्यटनको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ ।
सहभागीले स्थानीय परिकारको स्वाद लिन र उत्पादन प्रदर्शन गर्न सक्नेछन्।” अध्यक्ष पौडेलले महोत्सव लाई सफल बनाउन सवैमा आग्रह समेत गरेका छन् ।
महोत्सवमार्फत शान्ति र सद्भावको सन्देश प्रवाह गर्दै, पर्वत जिल्लाको सांस्कृतिक धरोहर र आर्थिक पहिचानलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको पौडेलले बताए । महोत्सवले समग्र पर्वतको पर्यटन प्रबर्द्धन र आर्थिक विकासमा जोड दिएको छ ।









