१७ साउन, पर्वत
अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको चुवा खण्डमा पहिरो जाँदा यातयात अबरुद्ध भएको छ । कुश्मा पोखरा खण्ड अन्र्तगतको चुवा खण्डमा सडक माथिबाट ढुंगा सहितको पहिरो खस्दा यातयात अबरुद्ध भएको हो ।
जिल्ला ट्राफिक कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेका अनुसार अविरल बर्षा भइरहेका कारण बर्षा नरोकिएसम्म पहिरो हटाउने काम शुरु गर्न कठिनाइ भएको छ ।
सोमबार विहान देखि भइरहेको अविरल बर्षा अहिले पनि निरन्तर नै भइरहेको छ । उक्त सडक खण्ड अघिल्लो बर्ष मात्रै स्तरोन्नति गरेर सम्पन्न भएको हो । अहिले सडक स्तरोन्नतिका क्रममा सडक माथि रहेका ढिस्को, ढुंगाहरु बर्षा भएपछि निरन्तर झर्ने क्रम बढेको छ । पर्वतको मालढुंगा देखि नै कास्कीको नयाँपुल क्षेत्र सम्म सडक यात्रा बर्षा समयमा जोखिमयुक्त हुने गरेको छ ।
त्यस्तै कुश्मा नगरपालिका र जलजला गाउँपालिकाको सिमानामा पर्ने बेनी मालढुंगा सडक खण्डकको दमुवा खोला नजिकै पनि पहिरोले सडक अबरुद्ध बनाएको छ । सडक अबरुद्ध भएपछि बेनी मालढुंगा सडकमा यात्रा गर्ने यात्रुहरुलाई आवत जावतमा समस्या भएको र सडकको अबरुद्ध हटाउने प्रयास भइरहेको ट्राफिक प्रमुख निउरेले जानकारी दिनुभयो ।








