पोखरा, ३१ साउन ।
गुरुङ समुदायले मनाउने ट्होटें पर्व धूमधामका साथ मंगरवार पोखरामा मनाइएको छ । पोखराको मानवअधिकार चोकबाट परम्परागत भेषभूषामा नाचगान गर्दै नयाँ बजार तमु धींको केन्द्रीय कार्यालयमा पुगेर औपचारिक रूपमा गुरुङ जातिको ट्होटें पर्व मनाइएको हो । पोखरामा मनाइएको ट्होटें पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले शोकबाट सुखद यात्रामा लाग्ने र भूतप्रेत हटाउने मात्र नभइ यस्ता पर्वले समाजबाट अन्धविश्वास, गरिबी र पछौटेपन पनि हटाउन भूमिका खेल्ने विश्वास व्यक्त गरिन् । ‘प्राचीन कालदेखि नै यहाँको माटो, ढुंगा, वन, जंगल, कृषि योग्य जमिनमात्र होइन, नेपाली संस्कृति र गुरुङ जातीको विषेश योगदान रहेको स्मरण गर्न चाहान्छु’, राष्ट्रपति भण्डारीले भनिन् । गुरुङ जातिको, भाषा, संस्कृति, रीतिरिवाज, चाडपर्व, भेषभूषाले नेपाली संस्कृतिलाई समृद्ध बनाउन ठूलो योगदान पुगेको राष्ट्रपति भण्डारीको भनाइ थियो ।

ट्होटें पर्वमा गुरुङ जातिले विभिन्न हातहतियार, बाजाहरु, झ्याली, चोपडी , सुलाची , चिम्टा लगाएतका सामाग्रीहरू प्रदर्शनसहित पर्व मनाएका हुन् । यो पर्व वर्षको २ पटक मनाइने गरिन्छ । चैत्र महिनाको अन्तिम मंगलबार र साउन महिनाको अन्तिम मंगलबार गरि दुईपटक उधौली र उभौलीको रूपमा यो पर्वलाई मनाउने प्रचलन रहेको छ । गुरुङको मुख्य पर्व लोसार हो । ट्होटें पर्व पनि उत्तिकै पुरानो सांस्कृतिक पर्व हो । गाउँमा मनाइने पर्व परम्परा जोगाउन सहरमा पनि मनाउन थालिएको तमु धींका अध्यक्ष हुमबहादुर तमुले जानकारी दिए ।
परापूर्व कालमा गाउँघरमामा खेतीपाती राम्रो होस, शत्रु नाश होस भन्ने कामनासहित गाउँमा ट्होटे मनाउने गरिएतापनि हाल आफ्नो मौलिक भेषभुषा, भाषा संस्कृतिको संरक्षणका लागी ट्होटे पर्व मनाउदै आएको पाइन्छ । तर अहिले शहरी क्षेत्रमा मनाइने पर्वमा भने सामाजिक कुसंस्कार, भ्रष्टाचार, बेथितीलाई नाश गर्ने उद्देश्यसहित ट्होटें पर्व मनाइएको बताइन्छ । मंगलबारको ¥यालीमा पोखरामा रहेका विभिन्न तमु समाजको उपस्थिती रहेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङ तमुहरुको थातथलो गण्डकी प्रदेशले यस्ता पर्व र संस्कृतिहरुको संरक्षण र प्रवद्र्धन गर्न लाग्नुपर्नेमा जोड दिए । उनले गुरुङ समुदाय शासन देखि प्रशासनको क्षेत्रमा अब्बल हुनुपर्ने उनको धारणा थियो । राजनैतीकदेखि प्रशासनको क्षेत्रमा गुरुङ समुदायको मानिसहरुको राज हुनुपर्ने उनले बताए । ‘लाहुरे संस्कृतिको मैले विरोध गर्दिन,’ उनले भने, ‘तर समय सापेक्षिक रुपमा परिवर्तन हुनुपर्छ ।’
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सभामुख नेत्रनाथ अधिकारी, कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापा, प्रदेश सांसद मिना गुरुङलगायतले शुभकामना दिएका थिए ।
ट्होटें पर्वको अवसरमा गरिएको झाँकी ¥यालीमा चिउली पाचे तमु समाज प्रथम भएको छ । भने डडुवा दुर्छा तमु समाज दोस्रो भएको छ ।









