२०७९ श्रावाण २९
डिल व विक. पर्वत /
‘भरिया दाईले बिसाउने भारी सुन माया डाँडैको चौतारी’
कलाकार विष्णू खत्रिले गाएको यो गीत सुन्दा कूनै बेलो पिठ्यूँमा भारीवोकर बाटोमा हिँड्दै गरेका भरियाहरुले बिसाउने चौतारीको सम्झना दिलाउँछ । हुन पनि भारीबोकर हिँड्नेहरु कतिबेला भारी बिसाउने चौतारी आउला भनेर हिड्ने गर्थेे ,चौतारीमा पुगेर भारी बिसाउदा आफुले बोकेको भारीको बोझ बिर्सने गर्थे ।
भारी बोक्ने मात्र होइन बाटो हिँड्ने बटुवाहरु समेत चौतारी भेटेपछि एक सुस्केरा सास फेर्दै थकान लाई बिश्राम लिन्थे । बरपिपलको चौतारीमा बसेर थकित शरीरलाई बिश्राम लिँदा छ्ुट्टै आनन्द आउँथ्यो ,त्यो बेला तर अहिले ति इतिहास बोकेका चौतारी बिरानो हँुदै गएका छन् । वरपिपलका रुखहरु पनि वुढेसकाल लागेर सुक्दै गएका छन् । धोद्रा लागेका रुखहरुले तिनै वटुवाहरुलाई कुरिरहेका छन् । कुनै वेला संचारको विकास नहुदा अगाडी हिड्दै गरेको साथीले पछि आउदै गरेको साथी भेट्न चौतारीमा कुरेर वस्ने चलन थियो ।

एकदशक अगाडि बाटेमा देखिने चिटिक्क परेका चौतारी अहिले एकादेशको कथा बन्न थालेका छन् । विकास निर्माणको गतिसंँगै भौतिक विकासमा दौडिरहेको हाम्रो समाज यतिबेला तेतै अल्मलिँदा पुराना संरचना भत्तकिदै गएका छन् ।
एकदशक अगाडि पर्वत सदरमुकाम कुश्मा आउन जान प्रयोगहुने पैदलमार्ग मोदीवेणी ,मुडिकुवा अन्तर्गत सिरसुवाको चौतारी बटुवाहरुको थकाई मेट्ने स्थानको रुपमा चिनिन्थ्यो । कुश्मा बाट भारी वोकेर फर्किएका भरियाहरु मोदीवेनीको उकालो काटेर सिरसुवाको चौतारिमा बिश्राम लिदा भारिको थकान बिर्सन्थे । डाँडाको चौतारीमा चल्ने चिसो हावाले उकालो चड्दा पसिनाले भिजेको शरीरलाई सितलता दिन्थ्यो । चौतारीमा बिसाइ मेट्नेहरुको संख्या बढ्दै जादा नजिकै रहेका होटल व्यवसायीहरुको पनि व्यापार वढेको थियो । कुश्मा आउनेहरु बाटोमा पानी पर्दा मोदीवेनीमा रहेको ठाँटीमा ओत बस्न पाउँदा घरमानै पुगेको आभास हुन्थ्यो । आज ति चौतारीहरु पाटी पौवाहरु झाडीले भरिएका छन् । चौतारिका ढुंङ्गहरु लेउलागेका छन् । संरक्षणको अभावमा रहेका छन् । यो त एउटा उदाहरण मात्र हो आज कैयौ चौतारिहरु यस्तै अवस्थामा पुगेका छन् ।

बाटो मुनिका कुवाहरु यतिवेला मोटरवाटो खन्दा पुरिएका छन् । पैदलयात्री हिँड्ने गाँउको गोरेटो बाटो सुनसानै भएका छन् । इतिहास वोकेका ति ढुंङ्गे छपनी बिछ्याएका बाटाहरु तेस्तै अवस्थामा छन् । बाटो हिँड्दा पानी पर्दा घामले पौल्दा अनि कुनै गन्तव्यमा हिडेको बटुवा साझ पर्दा बास वस्ने ठाँटीमा कोही पुग्दैन , ति पुराना संरचना भत्तिकएका छन् ।
आजकाल पाटीपौवा बन्न छोडेका छन् विकासको फड्को मारेको हाम्रो समाजमा गाँउमा मोटरवाटो पुगेपछी हिलाम्मे भएका सडकमा यतीवेला गाडीहरु गुडिरहेका छन् । हिलाम्मे बाटो भए पनि गाडीमा यात्रा गर्नुपर्ने गाउलेको वाध्यता बनिसकेको छ । भौतिक विकास संगै गाँउको इतिहास वोकेका गोरेटो बाटो चौतारी , पोखरी , पाटीपौवाको अस्तित्व हराउँदै गएको छ ।
पछिल्लो समय गाउँगाउँमा पर्यटन प्रवद्र्धनको धारणा आए पनि स्थानीय निकाय बाट यस्ता ऐतिहासिक संरचना पुननिर्माणको चर्चा चलेको पाईदैन । पूर्वधार विकासका नाममा सडक संजालको विकास लाई नै मुख्य विकास मानिदै आएको पाइन्छ । समाजमा आधुनिक विकास संगै बाउबाजेले स्थापना गरेका ति ऐतिहासिक संरचनाहरु को प्रवद्र्धन हुन नसक्दा संकटमा रहेका छन् । गाउमा भएका यस्ता पुराना संरचनाहरु जोगाइ राखनु सवैको जिम्मेवारीहो त्यसैले संकटमा परेका इतिहास वोकेको संरचना संरक्षणमा लाग्नु पर्ने देखिन्छ । वातवरणका दृष्टिकोणले पनि मानव सभ्यतासंग जोडिएका संरचनाहरु जोगाई राख्नुपर्ने तपाई हामी सवैको दायित्व रहेको छ ।

वैज्ञानिक दृष्टिकोणले पनि चौतारीमा रहेका पिपलका रुख वाट निकै फाइदा हुने मानिन्छ । पिपलले २४ घण्टा अक्सिजन दिने हुदा यो हाम्रो स्वस्थ्यको लागि पनि फाइदा जनक मानिन्छ । पिपलका पातलाई औषधीको रुपमा सेवन गर्ने चलन पनि रहेको पाहिन्छ ।
पछिल्लो समय बातवरण संरक्षण अभियान अन्तर्गत डिभिजन वन कार्यालय द्वारा चौतारीपोखरी संरक्षण अभियान संचालन गरिए पनि यस अभियानमा स्थानियहरुको खासै उल्लेख्य सहभागिता देखिदैन । गत आबमा पर्वत जिल्लामा ६ वटा चौतारी र ११ वटा पोखरी निर्माण भएको डिभिजन वन कार्यालयको तथ्याङक रहेको छ ।
यस वर्ष पनि सामुदायिक वन क्षेत्रमा पानीका मुहान संरक्षण अभियान अन्तर्गत पोखरी निर्माण गर्ने तथा हरियाली प्रवद्र्वनका लागि चौतारी निर्माण अभियान संचालन गर्ने डिभिजन वन कार्यालय पर्वतले जनाएको छ ।









