६ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारको पश्चिम मोहोडाको पुरानै कार्यकक्षको प्रयोग सुरु गरेका छन् । २०७२ सालको भूकम्पपछि प्रयोगविहीन भएको पश्चिम मोहोडाका कार्यकक्ष सहित विलासी हलहरुको समेत प्रयोग सुरु भएको हो ।
बुधबार एक कार्यक्रमका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यालयको स्थानान्तरणले नयाँ गति पक्रिने र सबैको एकता अझै बलियो हुने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयभित्रका स्टेट हल र बेलायती कक्ष तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेरले निर्माण र प्रयोग गरेका कक्ष हुन् । यी कक्षहरु विगतमा २०७२ अघिका प्रधानमन्त्रीहरुले पनि प्रयोग गरेका थिए ।माघ २०७७ मा सिंहदरबारको पूर्वी, उत्तरी र दक्षिणी मोहोडाको पुनर्निर्माण सकेपछि तीनै मोहोडामा प्रधानमन्त्रीका लागि कार्यकक्ष र बैठक कक्ष बनाइएका थिए । ती कक्ष तयार भएपछि गृह मन्त्रालयको भवनमा सरेर बसेको प्रधानमन्त्री कार्यालय सिंहदरबारकै मूल भवनमा फर्किएको थियो ।
चन्द्रशमशेरले आफ्नै प्रयोजनका लागि सिंहदरबार निर्माण गराउँदा नै स्टेट हल र बेलायती कक्षहरु बेलायतको दरबारका कार्यकक्ष स्तरमै बनाएका थिए । इतिहासका जानकारहरुका अनुसार सुनौलो रंगको ‘स्टेट हल’ उनको सबैभन्दा प्रिय कक्ष थियो । आफ्ना विशिष्ट भेटवार्ता उनी त्यही कक्षमा गर्थे । कक्षमा हुने अन्य गतिविधिहरु पनि यही हलको माथितर्फ रहेका शयन कक्षमा खुल्ने झ्यालबाट नियाल्थे ।
कक्षका ढोकादेखि झ्यालसम्ममा बहुमूल्य बुट्टेदार सिसाहरु प्रयोग गरिएका छन् । यो कक्ष कलात्मक ऐनादेखि बुट्टेदार भित्ताहरुले सजिएको छ । राणाकालीन पियानोसम्म राखेर सजावट गरिएको छ । यहाँ राखिएका महँगा झुमर र पेन्टिङदेखि घडीहरुसम्मले राणा प्रधानमन्त्रीहरुको विलासी सोखलाई प्रतिबिम्बित गर्छन् ।
ऐतिहासिक महत्वको बेलायती कक्ष पनि ‘नियोक्लासिक’ डिजाइनमा बनेको शानदार कक्ष हो । बेलायतकै दरबारको अतिविशिष्ट कक्षको नक्कल गरेर बनाइएको सो कक्षमा पनि महँगा पेन्टिङदेखि झुमरहरुसम्म सजाइएका छन् । कुँदिएका कलात्मक बुट्टाहरुले यो कक्षलाई भव्य देखाएको छ ।
राणा प्रधानमन्त्रीहरुले ऐस आरामका लागि प्रयोग गरेका यस्ता कक्षहरु अहिले सिंहदरबारको इतिहाससँग जोडिएको गर्वको सम्पदा बनेका छन् । यी कक्षहरु बेलायती महारानी एलिजाबेथ नेपाल भ्रमणमा आउँदा समेत राजकीय भेटवार्ता तथा भोजका लागि प्रयोग भएका थिए ।
२०७२ को भूकम्पअघि नै भित्ता चर्किने र भुईं थर्किने लगायत समस्या देखिएपछि यी कक्षहरु प्रयोगमा थिएनन् । झन् २०७२ सालमा यी कक्षका भित्ताहरु चर्किएपछि ताल्चा ठोकिएको थियो ।








