पर्वतको बिहादीमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । चैत्र २७ गते बिशेषज्ञ सहितको बृहत निःशुल्क स्वास्थ्य शिविर बिहादी रानीपानीको नेपाल तारा माध्यमिक विद्यालयमा आयोजना गरिएको हो ।
गरिव, विपन्न तथा आर्थिक रुपले पछि परेका समुदायका लक्षित गरि शिविर आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष परविन गुरुङले जानकारी दिनुभयो । शिविरबाट कोही पनि बञ्चित नहुन भनेर गाउँपालिकाले जेष्ठ नागरिक र अशक्त व्यक्तिलाई यातयातको व्यवस्था गरेको छ । शिविरमा जटिल रोगका बिरामीलाई निःशुल्क अप्रेशनको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले बताउनुभयो ।
शिविरमा गाउँपालिका भित्रका मात्र नभई अन्य पालिका र छिमेकी जिल्लाका नागरिकले पनि सेवा लिने विश्वास गरिएको छ । शिविरमा १६ प्रकारका रोगको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाईएको छ । जसमध्ये जनरल मेडिकल, स्त्री रोग, बाल रोग, शल्यक्रिया सर्जरी, मानसीक तथा नशा, छाला तथा यौन रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग, ई।सी।जी, भिडियो एक्सरे, ल्याव टेस्ट सेवा र मुटु रोगको विज्ञ चिकित्सक तथा प्राविधिकहरुद्वारा निःशुल्क स्वास्थ्य परिक्षण गरिने छ ।
गाउँपालिकाले विगतदेखी नै निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै आएको छ । शिविर बिहादी गाउँपालिकाको आर्थिक सहयोग, र काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड सिनामंगल काठमाडौँको प्राविधिक सहयोग आयोजना गरिएको हो ।