कार्तिक २८ ,पर्वत /
पर्वत जेसीजको आयोजनामा भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल पत्रकार महासङ्घ पर्वत शाखाले आयोजक पर्वत जेसीजलाई पराजित गरेको छ ।
जेसीज सप्ताह–२०२४ अन्तर्गत बुधवार सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकामा भएको प्रतियोगितामा निर्धारित ५० मिनेटको समयमा दुवै समूहबाट ३/३ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टीमा पत्रकार महासङ्घको टोलीले पाँच वटै प्रहारलाई जालीमा चुमाउन सक्यो भने जेसीजको टोलीले चार गोलको मात्रै प्रत्युत्तर दिन सक्यो ।
खेल सुरु भएको चौथो मिनेटमा नै पत्रकारको टोलीले पहिलो गोल गर्दै समूहलाई अग्रता दिलाएको थियो । तर आठौँ मिनेटमा नै जेसीजको टोलीले गोल गर्दै खेल बराबरीमा पुग्यो । खेलको २९ औँ मिनेटमा पत्रकारको टोलीले पुन गोल थप्दा लगत्तै ३० औँ मिनेटमा जेसीजको टोलीले पनि गोल थप्दै खेललाई बराबरीमा लगेको थियो । खेलको ४७ औँ मिनेटमा जेसीजले पुनः एक गोल गर्दै टोलीलाई अग्रता दिएको थियो । ४९ औँ मिनेटमा त्यसको जवाफमा महासङ्घको टोलीले पनि तेस्रो गोल गर्दै खेल बराबरीमा लगेपछि खेल ३/३ गोलको बराबरीमा पुगेको थियो ।
खेलको सुरुवाती चरणमा महासङ्घको टोलीले जेसीजको टोलीलाई दबाबमा राखेको भए पनि त्यो लय कायम हुन नसक्दा पत्रकारको टोलीले जवाफी गोल खानु परेको हो ।
विजेता बनेको पत्रकार महासङ्घ पर्वतको टोलीलाई सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिकाका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापाले ट्रफी र मेडलले सम्मान गरेका थिए । बुधवारको मैत्रीपूर्ण फुटबल खेलको संयोजन जेसी अर्जुनराज पुरीले गरेका थिए ।