राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति ९नियोक० ले २०८१ मंसिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको पर्यवेक्षण सम्पन्न गरेको छ। नियोकले देशभर ४१ स्थानीय तहमा भएको निर्वाचनको मतदान प्रक्रिया सफलतापूर्वक पर्यवेक्षण गरी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको हो।
मतदान प्रारम्भदेखि समापनसम्म तीन चरणमा गरिएको पर्यवेक्षणमा नियोकले १२१ पर्यवेक्षक परिचालन गरेको थियो। यसमा केन्द्रबाट खटिएका विज्ञ टोली र जिल्ला तथा प्रादेशिक समितिबाट छानिएका घुम्ती पर्यवेक्षक समावेश थिए।
समग्रमा शान्तिपूर्ण रुपमा सम्पन्न निर्वाचनमा मतदाताको सहभागिता उत्साहजनक रह्यको नियोकले जारी गरिएको विज्ञप्तिमा भनिएको छ। बिहान चिसोका कारण प्रारम्भमा उपस्थिति न्यून भए पनि दिनभर गर्मी बढेसँगै सहभागिता उल्लेखनीय देखिएको थियो। मुख्यतः महिला, जेष्ठ नागरिक, र अपाङ्गता भएका व्यक्तिहरुको सहभागितालाई सकारात्मक मानिएको छ।
पर्यवेक्षणका क्रममा केही मतदान केन्द्रहरुमा आचारसंहिता उल्लंघनका घटना देखिएका छन्। आर्थिक प्रलोभन, खाना खुवाउने, र मतदानकै दिन प्रचारप्रसार गर्ने गतिविधि देखिएको नियोकले जनाएको छ। साथै, कतिपय मतदान केन्द्रहरु अपांगतामैत्री नभएको, ज्येष्ठ नागरिकको परिचयपत्र अस्वीकृत भएको, र सुरक्षा चुनौती महसुस भएको घटनाहरु पनि उजागर भएको नियोकले उल्लेख गरेको छ।
मतदाताको उत्साहजनक सहभागिताले लोकतान्त्रिक प्रक्रियाप्रतिको विश्वासलाई थप बलियो बनाएको नियोकले उल्लेख गरेको छ। यस उपनिर्वाचनलाई सफल बनाउन योगदान दिने सबै मतदाता, राजनीतिक दल, उम्मेदवार, निर्वाचन आयोग, सुरक्षा निकाय, र सरोकारवालाहरुलाई धन्यवाद दिँदै विस्तृत प्रतिवेदन चाँडै सार्वजनिक गरिने नियोकले जनाएको छ।