३० फागुन २०८२/
पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ स्थित देव-नारायण अक्षयकोषको आठौं वार्षिक कार्यक्रम एवं चौथो स्मृति कार्यक्रम सम्पन्न भएको छ । सनिवार दुर्लुङमा एक कार्यक्रमको आयोजना गरि अक्षयकोषबाट विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हो ।
कार्यक्रममा यो बर्ष प्रजातान्त्रिक, सामाजिक एवम् धार्मिक क्षेत्रबाट लोकनाथ आचार्य, पत्रकारिता क्षेत्रबाट पर्वतका क्रियाशिल पत्रकारहरु ओम घायल, सन्तोष थापा र प्रनिश गिरी, राष्ट्रिय भलिबल खेलाडी सुवास कुँवर, स्वस्थ्य क्षेत्रको सुधारका लागि योगदान पुर्याउने प्रदेश अस्पताल पर्वतका पुर्व अध्यक्ष शंकर गिरी, कुनपा-३ दुर्लुङबाट पहिलो बिद्यावारिधी गर्ने व्यक्ति सल्यान निवासी डा. चुडामणी पोख्रेल लगायतलाई सम्मान गरिएको छ ।
कार्यक्रममा काफलचौर माबि र सुर्य प्रकाश माबिबाट एसईई २०८१ मा ए प्लस ग्रेड ल्याउने ४ जना विद्यार्थीहरु, कक्षा १२ मा उत्कृष्ट अंकसहित पास हुने विद्यार्थी, दालपोखरी प्राबि, जनश्रम प्राबि र पथ फाइडर बोडिङ स्कुल गरि प्रत्येक बिद्यालयका २ जना गरि १० जना विद्यार्थीहरुलाई नगद सहित पुरस्कृत गरिएको संस्थाका अध्यक्ष प्रीतम गुरुङले जानकारी दिनुभयो ।
त्यस्तै ,शिक्षा, शिक्षा,शिक्षा अभियान अन्तर्गत भद्रकाली माबि पोखरामा पढ्ने १० जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि १० हजार, तमु समाज आमा समुह दुर्लुङ चनौटेमा सामुदायिक भवन निर्माणका लागि १० हजार सहयोग गरिएको छ ।
विं.सं. २०७४ सालमा स्थापित देव- नारायण अक्षयकोषबाट निस्वार्थ विभिन्न सामाजिक कार्यहरू गर्दै आएको अक्षयकोषका अध्यक्ष गुरुङले बताउनुभयो ।
समाजमा सकारात्मक सन्देश दिनका लागि कला, साहित्य,धर्म, सांस्कृतिक, शैक्षिक एवम् सामाजिक कार्यमा क्रियाशिल सामाजिक अभियान्त, कलाकार, पत्रकार,खेलाडी र विद्यार्थीहरुलाई सम्मान गर्दै आएको उहाँले बताउनुभयो ।
यस कार्यले सम्मानित व्यक्तिहरुलाई आफ्नो कार्यक्षेत्रमा क्रियाशिल हुन थप हौसला र प्रेरणा मिल्ने गुरुङले विश्वास व्यक्त गर्नुभयो ।समाजमा योगदान पुर्याएका व्यक्तिहरुलाई विगतका बर्षहरुमा पनि पुरस्कृत तथा सम्मान गरिएको र यो बर्ष पनि उक्त कार्यलाई निरन्तरता दिएको उहाँको भनाइ छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभा सदस्य अर्जुन प्रसाद जोशीले स्वर्गीय देव बहादुर गुरुङ र नारायण प्रसाद गुरुङले समाजको विकासका लागि अतुलनीय योगदान पुर्याउनुभएको बताउदै समाजसेवी व्यक्ति सधैं स्मरणमा रहने बताउनुभयो ।
सामाजिक कार्यमा क्रियाशिल देव-नारायण अक्षयकोषले समाजमा सकारात्मक प्रभाव पारेको बताउदै अक्षयकोषले समग्र क्षेत्रलाई समेटेर पुरस्कृत र सम्मान गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो ।
कार्यक्रममा राप्रपाका केन्द्रिय सल्लाहकार सदस्य तथा पर्वतका पुर्व जिविस सभापति इच्छा बहादुर गुरुङ, नेपाली काँग्रेस पर्वतका पुर्व सभापति नवराज गुरुङ, नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी, नेपाली कम्युनिस्ट पार्टी गण्डकी प्रदेश सचिवालय सदस्य शंकर गिरी,नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्य याम बहादुर मल्ल, नेपाली काँग्रेस पर्वतका सचिव गुप्तनिधी शर्मा, पर्वतका सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेल, कार्यक्रममा सम्मानित व्यक्तिहरु लोकनाथ आचार्य, पत्रकार ओम प्रसाद घायल,कासिनाथ पोख्रेल, पुर्व शिक्षक शंकर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै देव-नारायण अक्षयकोषबाट भएका समाजिक कार्यहरुको प्रशंसा व्यक्त गर्नुभएको थियोे ।
कार्यक्रममा संस्थाका सदस्य बद्री गिरीले स्वर्गीय ल्याप्टेन देव बहादुर गुरुङ र स्वर्गीय नारायण प्रसाद गुरुङले समाजमा पुर्याउनुभएको योगदान र उहाँहरुको जिवनीका बारेमा चर्चा गर्नुभएको थियोे ।
देवनारायण अक्षयकोषका अध्यक्ष प्रीतम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन नयन न्युज डटकमका प्रबन्धक तथा सम्पादक पत्रकार लक्ष्मण बिसिले गर्नुभएको थियोे ।








