पर्वत – विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका पर्वत जिल्ला कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई सम्मान प्रदान गरिएको छ।
सम्भवतः इतिहासमा नै पहिलो पटक पर्वत जिल्लाको नागरिकले सगरमाथाको सफल आरोहण गरेको खुसीयालीमा उनलाई वडा कार्यालय सहित वडामा रहेका विभिन्न सङ्घ संस्था तथा नागरिकहरूको तर्फबाट सामूहिक रूपमा सम्मान गरिएको वडाध्यक्ष राम शर्मा लामिछानेले बताए।
हाल भारतीय सेनामा कार्यरत रहेका पि.सी.ले गत जेठ १३ गते भारतीय सेनाका तर्फबाट सगरमाथाको सफल आरोहण गरेका थिए। २०७४ सालमा भारतीय सेनामा भर्ती भएका उनले भारतीय सेनाको रजत जयन्ती सगरमाथा अभियानको हिस्साका रूपमा सगरमाथाको आरोहण गरेका थिए।
आरोहणपछि तत्काल समय नमिल्दा गृह नगर कटुवाचौपारी फर्किने मौका नपाएका उनी पाँच महिनापछि भारतीय सेनाबाट छुट्टी लिएर जन्म गाउँ आएका हुन्। सोही अवसरमा उनलाई गाउँमा स्वागत र सम्मान गरिएको वडाध्यक्ष लामिछानेले बताए। पि.सी.को कामले समग्र पर्वत जिल्लाले नै सगरमाथा शिखरको आरोहण गरेको जस्तै गौरव लागेकाले उनलाई पञ्चेबाजा र भजनको साथमा गाउँलेहरूले गाउँ परिक्रमा गराएका हुन्।
कटुवाचौपारी वडा कार्यालय, सार्वजनिक माध्यमिक विद्यालय, जनप्रिय आधारभूत विद्यालय, गायत्री आधारभूत विद्यालय, स्वास्थ्य चौकी, आइबल एकेडेमी, स्थानीय मन्दिर व्यवस्थापन समिति, आमा समूह सहित वडावासीहरूले पि.सी.लाई सम्मान गरेका हुन्। वडाका तर्फबाट दोसल्ला र सम्मान पत्रले सम्मान गर्दै प्रोत्साहनका लागि सात हजार पाँच सय रुपैयाँ नगद प्रदान गरिएको छ।
‘सगरमाथाको चुचुरोमा पुग्ने उहाँ नै यो क्षेत्रको पहिलो व्यक्ति हुनुहुन्छ भन्ने छ। उहाँ सगरमाथा पुग्नु भनेको पर्वत जिल्ला पनि सगरमाथाको शिखरमा पुगेको जस्तो अनुभव भएको छ। अरू युवाहरूलाई पनि लक्ष्यमा पुग्नका लागि प्रेरणा प्रदान गरेको छ’, वडाध्यक्ष लामिछानेले भने, ‘उहाँको सम्मानमा गाउँभरका सबै जना आउनुभयो, पञ्चेबाजा र भजनमा नाचगान गर्दै गराउँदै किरणलाई गाउँ नै परिक्रमा गराउनुभयो। यो हामी सबैको लागि एउटा इतिहासको रचना भएको छ।’
सम्मान ग्रहणपछि बोल्दै सगरमाथा आरोही किरणले आफूलाई जन्माएको धर्तीप्रति आफू सदैव ऋणी भएको बताए। आफ्नो मातृभूमिको शक्तिकै कारण मातृभूमिमै रहेको सर्वोच्च शिखरमा आरोहण गर्न सकेकोमा उनले खुसी व्यक्त गर्दै जन्म ठाउँ र देशको नाम राख्नको लागि आफू सधैँ प्रयत्नशील रहने उनको भनाई छ। उनले आफ्नो सफलतामा पिता प्रेम र माता सिताप्रति कृतज्ञता अर्पण गरे।
सोही अवसर पारेर कटुवाचौपारी वडा कार्यालयले अन्य तीन जना व्यक्तिहरूलाई पनि सम्मान गरेको छ। गत २०८१ सालको एस.इ.ई परीक्षामा वडाभरिमा उत्कृष्ट नतिजा ल्याएको सार्वजनिक मा.वि.की सुशीला लामिछाने, आइबल एकेडेमीका कुशल अधिकारी र आफ्नो घरमा चोरी गर्न आएका चोरलाई पक्राउ गरी प्रहरीलाई बुझाएका सार्वजनिक मा.वि.का शिक्षक दीपक लामिछानेलाई पनि सम्मान गरिएको छ।
कटुवाचौपारीका पि.सी जस्तै पर्वतकै फलेवास नगरपालिका–२ थापाठानास्थित खुमका अर्जुन थापा मगरले पनि गत जेठमा नै सगरमाथाको सफल आरोहण गरेका छन्। उनीहरूले सगरमाथाको शिखरमा भारत र नेपालको झन्डा फहराएका थिए।









