विवेकशील साझा पार्टीको दुई वटा समूहका छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । अध्यक्ष रवीन्द्र मिश्रले साढे १२ बजे बैठक बोलाएका छन् भने संयोजक मिलन पाण्डेले बिहान ११ बजे बैठक बोलाएका छन् । दुवै बैठक भर्चुअल माध्यमबाट हुने प्रवक्ता शरद राज पाठकले बताए ।
अध्यक्ष मिश्र समूहले पार्टीमा सृजना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासलाई बैठकको एजेण्डा बनाएको छ । यता पाण्डे समूहले बैठक सञ्चालन कार्यविधि, पार्टीको विधान, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशा, एकताको महाधिवेशन, समसामयिक राजनीतिक प्रस्ताव सहित ११ बुँदामा छलफल गर्नेबारे एजेण्डा तय गरिएको छ ।
अध्यक्ष मिश्रले गत साउन ११ गते सङ्घीयताको खारेजी र धर्म निरपेक्षतामा जनमत सङ्ग्रहसहितको राजनीतिक प्रस्ताव सार्वजनिक गरेपछि विवेकशील साझामा वैचारिक मतभेद देखिएको छ । पाण्डे समूहले मिश्रको राजनीतिक प्रस्ताव पार्टीलाई स्वीकार्य नहुने बताएको छ ।
मिश्र समूहले संयोजक पाण्डे, नेताहरू केशव दाहाल र हरिष भट्टलाई प्रस्टीकरण सोध्ने तयारी गरेको छ । यता पाण्डे समूहले पनि अध्यक्ष मिश्र र प्रवक्ता शरद पाठकलाई जिम्मेवारीबाट हटाउने तयारी थालेको छ । त्यसका लागि अहिले पाण्डे समूह आन्तरिक छलफलमा छ । तर विवेकशील साझाको विधान अनुसार मिश्र र पाण्डेले बोलाएको दुवै बैठक अवैधानिक छ । Rato pati








