पर्वत – प्राविधिकहरूको गलत डिजाइनका कारण पर्वतको फलेबास नगरपालिकाको लमायखोलामा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत पर्वत खण्डतर्फको सडकमा पर्ने पुल ४ वर्षअघि निर्माण सुरु भएको हो ।२५ मिटर लम्बाइको लमायखोला पुल ५ करोड ६४ लाख रुपैयाँमा नयाँ बाटो गौचन जेभीले जिम्मा लिएको थियो । ठेकेदार कम्पनीले पुल बनाउन पेटी ठेकेदारलाई जिम्मा दिएको थियो ।
कालीगण्डकी करिडोर आयोजनाका इन्जिनियरले सुरुमा डिजाइन गरेको पुल खोलाको दुवैतर्फको किनारमा ढुंगामाथिबाट बनाइने जनाइएको थियो । डिजाइनकै क्रममा स्थानीयले विरोध गरेपनि इन्जिनियरहरूले गलत डिजाइनलाई नै निरन्तरता दिँदै ठेक्का खुलाएका थिए । ०७४ को अत्यतिर गरिएको प्रतिस्पर्धामा छानिएको नयाँ बाटो गौचन जेभीले ३ वर्षभित्रै पुल सम्पन्न गर्ने जनाएको थियो । उनले आफूले समयमै नसक्ने निश्चित भएपछि पेटी ठेकदारलाई जिम्मा लगाएर सम्पर्कविहीन भएको थियो ।
संघीय सांसद पदम गिरीले २०७५ कात्तिकमा ताकेता गरेपछि ठेकेदार शिव गौचनले समयमा काम सक्न केही प्राविधिक समस्या भएको बताएका थिए । व्यवसायी गौचनका अनुसार काम सुरु गरेलगत्तै पाल्पास्थित आयोजना कार्यालयले काम रोक्न आदेश दिएको थियो । उनका अनुसार दुवैतर्फ चट्टानमा पुल बनाउँदा टिकाउ नहुने भन्दै रिडिजाइन गर्ने भनेको कार्यालयले पछि पुरानै डिजाइनमा काम गर्ने भनेपछि अन्योल थपिएको हो ।पुल नबनेपछि स्थानीय र सरोकारवाला निकै आक्रोशित छन् । ‘हामीले उतिबेला नै यहाँ पुल हुँदैन, अर्को ठाउँमा सार्नुस् भनेकै हो,’ स्थानीय देवीलाल भुसालले भने, ‘अहिलेसम्म त्यही कारणले पुल बनेन । उतिबेलै हाम्रो कुरा सुनेको भए अहिले यो बाटो सरर्र भइसक्थ्यो ।’
०७५ मंसिरमा काम सुरु गरेका व्यवसायीले ०७६ जेठमा पुल निर्माण सकेर आयोजना हस्तान्तरण गर्ने तयारी थियो । दुवैतर्फका पिलर उठाएर स्ल्याब ढलान गर्ने समयमा पुनः आयोजना कार्यालयले पुलको निर्माण रोक्न भनेको थियो । उति बेलादेखि अलपत्र छाडिएका रड, सिमेन्टलगायत लाखौं मूल्यका सामग्री अझै निर्माणस्थलमा अलपत्र छन् ।कान्तिपुरबाट








