१ मंसिर २०७८/ नेपाली कांग्रेसले १४औं महाधिवेशको तयारी पूरा भएको जनाएको छ । पछिल्लो कार्यतालिका अनुसार कांग्रेसले मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्ने तयारी गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले अब निर्धारित समयमै अधिवेशन सम्पन्न हुने बताउनुभयो ।कांग्रेसले पार्टीको आसन्न १४औं महाधिवेशन अन्तर्गत प्रदेश समितिको अधिवेशनका लागि सातवटै प्रदेशमा संयोजक समेत तोकिसकेको छ । जसअनुसार प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, वाग्मती प्रदेशमा प्रकाशमान सिंह, गण्डकी प्रदेशमा गोपालमान श्रेष्ठ, लुम्बिनी प्रदेशमा बालकृष्ण खाँण, कर्णाली प्रदेशमा जीवनबहादुर शाही र सुदुरपश्चिममा दिलेन्द्रप्रसाद बडुले संयोजकको जिम्मेवारी पाएका छन् ।
कांग्रेस महाधिवेशनको उद्घाटन मंसिर २४ मा हुँदै छ । उम्मेदवारी मनोनयन दर्ताका लागि समितिले शूल्क समेत तोकेको छ । जस अनुसार केन्द्रीय सभापतिमा उम्मेदवार दिनेले ३० हजार ,उपसभापति र महामन्त्रीका लागि २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यको लागि १० हजार रूपैयाँ शुल्क लाग्ने छ ।
त्यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि ५ हजार, केन्द्रीय महासमिति सदस्य पदको निर्वाचनका लागि ७ हजार र प्रदेश महाधिवेशन प्रतिनिधिका लागि ३ हजार रूपैयाँ शुल्क लाग्ने समितिले जनाएको छ ।
जिल्ला कार्यसमिति सभापतिमा उम्मेदवारी दिनेले १० हजार, उपसभापति र सचिवका उम्मेदवारीले ७ हजार, सहसचिमा उम्मेदवारीदिनेले ६ हजार र सदस्यमा उम्मेदवारीदिनेले ३ हजार शुल्क तिर्नुपर्ने हुन्छ । महाधिवेशनमा उम्मेदवारी दिनेले उद्घाटन अघि नै उम्मेदवार मनोनयन दर्ता गर्नुपर्ने समितिले जनाएको छ ।








