२६ भदौ/
पर्वतको कुश्मा बजारबाट स्कुटर चोरी गरी भाग्दै गर्दा दुर्घटनामा परि एक बालक गम्भिर घाइते भएका छन् । कुश्मा नगरपालिकाको कार्यालय अगाडि रजतदिप श्रेष्ठको घरमा रोकि राखेको ध १ प ३५७९ नम्बरको स्कुटर आइतबार राती चोरी गरी भाग्दै गर्दा १७ बर्षिय बालक गम्भिर घाइते बनेका हुन् भने अर्का एक बालक सामान्य घाइते भएका छन् । घाइते दुवै १७ बर्षिय बालकको गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ भने एक १६ बर्षिय बालक प्रहरीको निगरानीमा रहेका छन् ।
आइतबार राती १० बजे ती तीन जना बालकहरुले स्कुटर चोरी गरी कुश्मा बजारकै यान्त्रिक पुल तर्फ भागेका थिए । भाग्दै गर्दा स्कुटर अनियन्त्रित भएपछि तीनै जना बालकहरु घाइते भएका थिए । प्रहरीको निगरानीमा रहेका बालकले प्रहरीले दिएको बयानमा आफुहरुले किल्लाको प्रयोग गरी स्कुटरको लक खोलेको र भाग्दै गर्दा दुर्घटनामा परेको बताएको प्रहरी निरीक्षक केशब केसीले जानकारी दिए ।
पछिल्लो समय कुश्मा बजार भित्र राखिएका सिसि क्यामराहरुले काम नगर्दा चोरीका घटनाहरु बढ्दै गएका छन् । नव आगन्तुक प्रहरी नायव उपरीक्षक खुमलाल भूसालले जिल्लाको स्थानीय सरकार, व्यवसायी लगायतको सहकार्यमा राखिएका सिसिक्यामराहरुलाई मर्मत कार्य अगाडि बढाउने गरी कार्ययोजना बनाएको बताए ।
मङ्लबार, चैत्र २४, २०८२
Tuesday, April 7, 2026








