१६ फागुन, पर्वत । प्रतिनिधी सभा सदस्य तथा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बुधवार पर्वतमा आयोजित तेस्रो राष्ट्रिय महोत्सवको उद्घाटन गरेका छन ।
उद्घाटन गर्दै पूर्व मन्त्री गिरीले मगर संस्कृति नेपालको सम्पत्ति भएको बताएका छन् । नेपालका मगरहरुको परम्परागत संस्कृति नेपालको सांस्कृतिक सम्पत्ति भएको गिरीले बताएका हुन् ।
गिरीले मगर समुदाय भित्रको भावनात्मक एकता सांस्कृतिक सम्बन्धले सवै नेपालीलाई एकताको शुत्रमा बाधेर राखेको बताएका छन् । १२ दिनसम्म चल्ने मगर महोत्सवको उद्घाटन गर्दै प्रतिनिधि सभाका सदस्य समेत रहेका गिरीले मुलुकको आर्थिक अवस्था अब विस्तारै सुधार हुँदै जाने दावी गरे ।
इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सवैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै यहाँभन्दा बिग्रिने ठाउँ नरहेकाले अब सुधार हुँदै जाने बताए । प्रतिनिधि सभामा नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका गिरिले विश्वका विकसित देशहरुपनि आर्थिक संकटपछि विकासको चरम गतिमा अघि बढेको भन्दै नेपाल पनि अब आर्थिक हिसावले समृद्ध बन्दै जाने बताए ।
गिरीले सवै राजनीतिक दलहरु एकजुट भएर मुलुकको विकास र समृद्धिमा लाग्नुपर्ने बताए । संकट परेको बेला सवै दलहरु एकजुट हुन आवश्यक रहेको भन्दै अहिलेको मन्दिको सामना गर्नका लागि सरकारले उचित कदम चाल्नुपर्ने बताए । यो देशका सवै जिम्मेवार दल, नागरिक समाज एकजुट भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने उनको भनाई छ ।
महोत्सवमा हरेक दिन राष्ट्रिय कलाकारहरुको सांगितीक प्रस्तुती, , दोहोरी गित प्रस्तुती, पालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता, पालिका स्तरीय महिला भलिबल प्रतियोगिता, पालिका स्तरीय प्रौढ भलिबल प्रतियोगिता, पुर्ख्यौली नृत्य प्रतियोगिता, लोक भजन चुड्का प्रतियोगिता, कृषि प्रदर्शनी, बाल उद्यान, स्थानीय खानाका परिकार, विश्वकै दोस्रो अग्लो बन्जी जम्प, केबलकार, झोलुङ्गे पुल, गुफाहरू सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको दैनिक साङ्गीतिक प्रस्तुति राखिएका छन् ।महोत्सवमा ३ करोड बढिको कारोबार हुने दावी गरिएको छ ।