निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

आइतवार, चैत्र ९, २०८१
Sunday, March 23, 2025

निस्पक्ष र सत्य समचारको साथमा तपाईको खवर

spot_img

पर्वत अस्पताल सौन्दर्यकरण गरिने अन्तर्राष्ट्रयि पर्वत समाजले ३५ लाख सहयोग गर्दै

पर्वत : सामाजिक क्षेत्रमा विभिन्न आर्थिक तथा भौतिक सहयोग गर्दै आइरहेको अन्तर्राष्ट्रिय पर्वत समाजले पर्वतमा अस्पतालमा पनि ३५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

सरकारबाट १५ शय्या क्षमताको अनुमति पाएर सञ्चालन भएको भए पनि पछिल्लो समय स्तरोन्नतिसँगै ६० शय्या क्षमतामा चलिरहेको अस्पतालको सौन्दर्यकरणका लागि शनिवार द्विपक्षीय सम्झौता भएको छ । अन्तर्राष्ट्रिय पर्वत समाजका तर्फबाट संस्थापक अध्यक्ष, हालका संरक्षक तथा पर्वत अस्पताल सौन्दर्यकरण परियोजनाका संयोजक पुरन गिरी र पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले संयुक्त रूपमा हस्ताक्षर गरेका छन् ।

पर्वत अस्पतालमा आयोजित सम्झौता कार्यक्रममा सहभागी भएका समाजका नेपाल प्रतिनिधि मुना भुसाल, मेडिकल अधिकृत मिलन अवाले, जनप्रतिनिधि, पत्रकार लगायतको उपस्थितमा सम्झौता भएको मितिले छ महिनामा सम्झौताको पूर्ण कार्यान्वयन गरिसक्ने गरी सम्झौतामा हस्ताक्षर गरिएको हो ।

अस्पतालले गुणस्तरीय सेवा प्रदान गर्नका लागि त्यहाँको वातावरण र सुन्दरता पनि महत्त्वपूर्ण पक्ष रहेकोले अस्पतालको सौन्दर्यकरणका लागि विभिन्न सात प्रकारका संरचनाहरू निर्माण गरिने सम्झौतामा उल्लेख छ । जसमा अस्पतालमा उपचारको लागि आउने बालबालिकाहरूको लागि बाल उद्यान, बिरामीका कुरुवा सहित अन्यका लागि खुल्ला व्यायामशाला, कुरुवाको लागि व्यवस्थित प्रतीक्षालय, प्रार्थनाका लागि भगवान् गौतम बुद्धको मूर्ति स्थापना, स्वस्थ वातावरण र आरामका लागि बगैँचा र चौतारी निर्माण तथा मौलिक परम्पराको संरक्षण र स्वस्थ पानीको आपूर्तिका लागि ढुङ्गे धाराको निर्माणका लागि ३५ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।

संरचना निर्माणका लागि आवश्यक समन्वय, जग्गा व्यवस्थापन, आवश्यकता अनुसार जीर्ण भौतिक संरचना प्रतिस्थापन लगायतका काम पर्वत अस्पतालले गर्ने छ । अब सरासर काम थालेर सम्झौता भएको मितिले छ महिना अर्थात् आगामी चैत १२ गतेभित्रमा निर्माण गरेर संरचनाहरू अस्पताललाई हस्तान्तरण गरिने छ ।

सम्झौतापछि बोल्दै अन्तर्राष्ट्रिय पर्वत समाजका संस्थापक अध्यक्ष तथा परियोजनाका संयोजक पुरन गिरीले विभिन्न उद्देश्यले विदेशमा रहेका पर्वतेहरूले सानो सानो रकम सङ्कलन गरेर संरचनाहरू निर्माण गर्न लागिएको भन्दै निर्धारित समयमा नै गुणस्तरीय रूपमा काम सक्न अस्पताललाई अनुरोध गरेका छन् । कोभिडको–१९ को बेलामा समेत अस्पतालमा अक्सिजन व्यवस्थापनको लागि ३५ लाख रुपैयाँ लगानी गरिएको भन्दै उनले स्वास्थ्य क्षेत्रलाई नै आफूहरूले प्राथमिकतामा राखेको बताए ।

‘विदेशमा हामी आफैँ नै कोभिडले बाँच्ने नबाँच्ने निधो थिएन । हामी मरिएछ भने पनि पर्वतमा रहेका हाम्रा बाबु आमा, दाजुभाइहरू कोही पनि मर्न नपरोस् भनेर नै सङ्कटको बेलामा पैसा उठाएर अक्सिजनको व्यवस्थापन गरेका हौँ’, संयोजक गिरीले भने, ‘हाम्रो मुटुमा माटोको माया छ । न त नेताले झैँ राजनीति गरेर भोट माग्न यो सहयोग गरिएको हो, न त यो पैसा डानेटरले नै दिएको हो ।’

मानिस जन्मिने र मृत्यूवरण गर्ने ठाउँ नै अस्पतालहरू बन्दै गइरहेकोले अस्पतालको वातावरण सोही अनुसारको हुनुपर्ने अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शङ्कर गिरीले बताए । जन्मिँदा र मर्दा पनि प्रार्थना गर्ने ठाउँमा बुद्धको मूर्ति स्थापना सहितका संरचना निर्माणमा समाजले गरेको विश्वास र लगानीप्रति उनले आभार व्यक्त गरेका छन् । अस्पतालप्रति नागरिकको विश्वास कायम गर्नको लागि भौतिक संरचना, स्वास्थ्यकर्मी, व्यवस्थापन समिति, भूगोल लगायतबिच तादम्यता मिल्नुपर्ने उनको भनाई छ । कुनै बेला दैनिक ३०/४० जना बिरामीको उपचार गर्ने अस्पतालले त्यही तादम्यताका कारण अहिले दैनिक करिब तीन सय जनाको स्वास्थ्य परीक्षण गरिरहेको अध्यक्ष गिरीले बताए ।

अन्तर्राष्ट्रिय पर्वत समाजले यसअघि पनि पर्वतमा धेरै सहयोगहरू गरिसकेको छ । पहिरोका कारण घरबार विहीन बनेको जलजला गाउँपालिकाको लस्तीमा बस्ती निर्माण, जिल्लाका सबै स्वास्थ्य संस्थाहरूमा तीन लाख रुपैयाँ बराबरका स्वास्थ्य सामग्रीहरू प्रदान, पैयुँ गाउँपालिकामा शव वाहन र फलेवास नगरपालिकालाई एम्बुलेन्स सहयोग, मोदी गाउँपालिकाको गुरुङ होमस्टे प्रवर्द्धन लगायतका कामहरू गरिसकेको छ ।

विभिन्न सिलसिलामा विदेशमा पुगेका पर्वतेहरूलाई परेका समस्याको समाधान गर्ने तथा मातृ जिल्लाको विकासमा सबै देशमा रहेका पर्वतेहरू एकजुट हुन सक्ने माध्यमको रूपमा करिब एक दशकअघि समाजको स्थापना गरिएको हो । अहिले विश्वका विभिन्न २७ वटा देशमा यसका समितिहरू निर्माण गरेर पर्वतेहरूलाई सहयोगदेखि विकास र समृद्धिका लागि प्रयासहरू भइरहेको समचार सन्जय रेग्मीले लेख्नुभएको छ ।

spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
ट्रेन्डिङ
spot_img
spot_img
spot_img