पर्वत : जिल्लाको जलजला गाउँपालिका–६ शालिजामा रहेको शालिजामा माध्यमिक विद्यालयले देउसी भैलो खेलेर साढे चार लाख रुपैयाँ सङ्कलन गरेको छ।
विद्यालयलाई प्रविधिमैत्री बनाउनका लागि आवश्यक पर्ने ‘स्मार्ट बोर्ड’, ‘प्रोजेक्टर’, ‘ल्यापटप’ लगायतका आवश्यक सामग्रीहरू खरिद गर्नका लागि खेलिएको देउसी भैलोबाट उक्त रकम सङ्कलन भएको विद्यालयका प्रधानाध्यापक टोपेन्द्र थापा मगरले बताए।
हाल बाल विकास केन्द्र र अन्य दुई वटा कक्षामा मात्रै ‘प्रोजेक्टर’ को प्रयोगबाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन हुँदै आएकोमा अब भने ‘स्मार्ट बोर्ड’ बाट समेत शिक्षण गर्ने योजना अनुसार विद्यालय परिवारले सेवा क्षेत्र सहित आसपासका क्षेत्रमा भैलो खेलेको हो।
शालिजाका बैडाँडा, नेराखर्क, पातालखर्क, गामा लगायतका ठाउँमा खेलिएको भैलोमा जलजला गाउँपालिकाले ५० हजार रुपैयाँ दान गरेको छ। गाउँपालिकाका अध्यक्ष राजु आचार्य र उपाध्यक्ष दीपक आचार्य लगायतका जनप्रतिनिधिहरू नै भैलोमा सहभागी भएर उक्त सहयोग गरेका हुन्। यस्तै वैदेशिक रोजगारीमा पुगेका गाउँलेहरूबाट करिब ४० हजार रुपैयाँ आएको र अझै रकम आउने क्रम जारी रहेको प्रधानाध्यापक मगरले बताए।
चोरी, डकैती, झैझगडा लगायतका कारण वर्षौँ अगाडिदेखि उक्त क्षेत्रमा देउसी भैलो खेल्न नखेल्ने गरिएको थियो। स्थानीयबासीहरु स्वयंले नै आफूहरू पनि भैलो नखेल्ने र आफ्नो ठाउँमा अरूलाई पनि भैलो खेल्न नदिने गरेका थिए। तर यस पटक भने विद्यालयलाई आधुनिक प्रविधियुक्त बनाउनको लागि विद्यालयबाट प्रस्ताव आएपछि गाउँलेहरूलाई भेला पारेर प्रस्ताव गरेपछि सबैको सहमतिमा भैलो खेलिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर पुर्जाले बताए।
त्यस क्षेत्रमा वर्षौँ पहिलेदेखि भैलो खेल्नमा स्थानीयले प्रतिबन्ध लगाउँदै आएकोमा यस पटक शैक्षिक सुधारको लागि प्रतिबन्ध हटाएर विद्यालयको आधुनिकीकरणको अभियान थालेकोले आफूहरूले नै सहभागी भएर देउसी भैलो टोलीलाई आर्थिक सहयोग गरेको गाउँपालिकाका अध्यक्ष आचार्यले बर्ता। गाउँपालिकाले प्राथमिकताका साथ विद्यालय शिक्षामा गुणस्तर र प्रविधिको उच्च प्रयोगलाई अगाडि बढाइरहेको बेलामा विद्यालय स्वयं नै अग्रसर भएर देउसी भैलोको माध्यमबाट प्रयास गरेकोमा उनले विद्यालयलाई धन्यवाद पनि दिएका छन्।
गाउँपालिकाका सबै विद्यालयहरूलाई प्रविधिमैत्री बनाउन खोजिएको तर सबैलाई विद्यालयलाई आवश्यकता अनुसार रकम विनियोजन गर्न नसक्दा पालो अनुसार दिँदै जाँदा ढिला हुन सक्ने भएकाले विशेष अवसरमा सञ्चालन गरिने यस्ता अभियानले विद्यालयले सफल बन्ने अध्यक्ष आचार्यको भनाई छ।