२४ जेष्ठ/
पर्वतको समग्र पत्रकारिताको विगत, वर्तमान र चुनौती बारेमा चर्चा र बहससँगै सुचनाको हक सम्वन्धि छलफल गर्दै पर्वत मिडिया समिट २०२५ सम्पन्न भएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयको सहयोगमा सोडेक नेपाल पर्वतको आयोजना तथा नेपाल पत्रकार महासं पर्वत शाखाको समन्वयमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पर्वतमा पत्रकारिताको विकास, वर्तमान अवस्था र चुनौती तथा सुचनाको हकका बारेमा छुट्टाछुटै कार्यपत्र प्रस्तुती सहित गहहन रुपमा छलफल गरिएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य सांसद भक्त कुँवरले यो मुलुकको विकास र परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । सञ्चार जगतबिना संसारनै अन्धकार हुने बताउँदै स्वच्छ, निष्पक्ष र तटस्थ पत्रकारितालाई अघि बढाउन आग्रह गर्नुभयो । प्रविधिको बिकास तीब्र रुपमा बढ्दै गईरहेको अवस्थामा अबको पत्रकारितालाई समेत सोहि दिशातर्फ लैजानुपर्ने बताउँदै सांसद कुँवरले सञ्चार जगतको सवलीकरण र सुदृढिकरणका लागि तीनै तहका सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले आवाजबिहीनहरुका आबाजलाई सञ्चार माध्यमले बढि प्राथमिकता दिनुपर्र्ने बताउनुभयो । बेथिति, विसंगति, भ्रष्टाचार र कुशासनको पक्षपोषण गर्न नहूने बताउँदै विकले यसका बिरुद्ध निष्पक्ष भएर कलम चलाउन आग्रह गर्नुभयो ।
नेकपा एमालेका नेता तथा फलेवास नगरपालिकाका संस्थापक नगरप्रमुख पदमपाणी शर्माले सञ्चारबिना हरेक परिवर्तनहरु सम्भव नरहेको बताउनुभयो । यो मुलुकको समृद्धि र विकासका लागि सञ्चार जगत महत्वपुर्ण हिस्सेदार रहेको बताउँदै मोफसलको पत्रकारितालाई हरेक दृष्टिकोणले विकास गर्दै जानुपर्ने बताउनुभयो । उहाँले संचार क्षेत्रको विकासका लागि तीनै तहका सरकारहरु उदार हुनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य छविलाल तिवारीले पर्वतका सञ्चार माद्यामहरुलाई निरन्तर रुपमा टिकाउनका लागि थुपै्र चुनौतीहरु रहेको बताउनुभयो । स्थानीय सरकारहरुवाट शुरुवात गरिएको एकीकृत विज्ञापन वितरण प्रणालीको दायरालाई अझै फराकीलो बनाउनुपर्ने आवश्यकता रहेको औल्याउँदै जनप्रतिनिधिहरु सञ्चार क्षेत्रको विकासप्रति सकारात्मक भैदिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलले सुचनाको हक सम्वन्धि र नेपाल पत्रकार महासंघका अध्यक्ष लक्ष्मण सापकोटाले पर्वतमा पत्रकारिताको विकास, वर्तमान अवस्था र चुनौतीका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
समाज कल्याण श्रोत विकास केन्द्र सोडेक नेपालका अध्यक्ष देविप्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटा र संचालन सोडेक नेपालका लेखा तथा प्रशासकिय अधिकृत बलिनारायण रेग्मीले गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख तथा सुचना अधिकारी पत्रकारसँग सम्वद्ध सवै संघ संगठनका अध्यक्ष तथा पदाधिकारी लगायतको सहभागिता रहेको थियो । सो अवसरमा शिक्षा विकास समन्वय ईकाई पर्वतले प्रकाशिन गरेको शैक्षिक सुचना नामक पुस्तक समेत लोकार्पण गरिएको थियो । सांसद कुँवरले उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
समन्वय ईकाई प्रमुख मतिलाल चपाईको सक्रियतामा जिल्लाको सम्पुर्ण शैक्षिक अवस्था समेटिएको पुस्तक प्रकाशन गरिएको हो ।










