पौष पर्वत ।
गत केही वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा वृद्धि भए पछि पर्वत फलेवासका कृषकहरु उत्साहित भएका छन् । गत वर्ष मह उतपादन कम हुदा निरास भएका कृषकहरु यस वर्ष भने खुसी भएका छन् ।
पछिल्लो चरणमा फलेवासका कुर्घा ,लिमिठाना ,ठानामौला ,भंगरामा, मोरीपालन व्यवसायमा फष्टाउदै गएपछि कृषकहरुको मौरीपालन तर्फ आकर्षण वढेको हो ।
पर्वत फलेवास १० कुर्घाका उमकान्त शर्मा विगत केही वर्ष देखी यही व्यवसाय गर्दै आएका छन् । ८० मौरीघार रहेको उनको घरमा वार्षिक ६०० देखी ८०० केजी सम्म मह उत्पादन हुनेगरेको छ । गत वर्ष मह वेचेर करिव ७ लाख आम्दानी गरेको शर्माले वताए ।
‘मौरी पालन व्यवसायले सन्तुष्ट छु’ उनले भने , घरपरिवार सवै यही पेशामा रमाएका छौ । पछिल्लो समय मौरी पालन व्यवसाय फष्टाउदै गएको तर चरण क्षेत्र कम भएकोले वेलैमा सजग हुनुपर्ने उद्यमी शर्माको भनाई रहेको छ । मौरी चरणको लागि चिउरी, कल्की , पंयूका विरुवा हुर्काउदा राम्रो हुने उनले वताए ।
फलेवास नगरपालिका का विभिन्न वडामा गरि वार्षिक १५ टन मह उत्पादन हुने तथ्यांक रहेको छ । नगरपालिका क्षेत्रमा करिव २५०० उन्नत घारमा मह उत्पादन हुने गरेको फलेवास नगरपालिका कृषि शाखाले जनाएको छ ।








