पौष २७, कुश्मा पर्वत
युवा तथा उद्यमीहरुको संस्था फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्थाको तेह्रौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन कुश्मामा सम्पन्न भएको छ। शनिबार कुश्मामा सम्पन्न संस्थाको अधिवेशनले कुसुम शर्माको अध्यक्षतामा ७ सदस्य संस्थाको चौथो कार्यसमिति चयन गरेको छ।
संस्थाको सम्पूर्ण नेतृत्वमा महिला चयन गरिएको छ। जसको उपाध्यक्षमा मञ्जु कुमारी शर्मा रेग्मी, सचिवमा सञ्जु कुमारी शर्मा (आचार्य) कोषाध्यक्षमा दिपिका शर्मा सहसचिवमा शारदा आचार्य रेग्मी र सदस्यहरू विपना थापा मगर र संगिता परियार रहनुभएको छ।
साथै केदारनाथ आचार्यको संयोजकत्वमा ३ सदस्य उद्यमशीलता विकास उपसमिति, शिवप्रसाद शर्माको संयोजकत्वमा ३ सदस्यीय स्रोेत व्यवस्थापन तथा परिचालन उपसमिति र मोहन आचार्यको संयोजकत्वमा नेतृत्व तथा क्षमता विकास उपसमिति समेत गठन गरिएको छ।
शिवप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन केदारनाथ आचार्यले गर्नु भएको थियो। कार्यक्रममा गैसस महासंघ नेपाल जिल्ला शाखा सचिव कृष्णप्रसाद शर्माले पछिल्लो वर्षहरुमा युवाहरुको पलायन र स्रोतको अभावमा सामाजिक संघसंस्थाको अभियान र गतिविधिमा असर पारिरहेको बताउँदै संस्थाले अस्तित्वको लागि रचनात्मक रुपमा काम गर्न जरुरत भएको बताउनु भयो। कार्यक्रममा बोल्दै रोटरी क्लव अफ पर्वतका पुर्व अध्यक्ष तथा सफल छापा प्रकाशन उद्यमी याेगराज गिरीले उद्यमशिलता विकासकाे लागि सामाजिक संघसंस्थाहरूले ठूलाे भूमिका खेलिरहेकाे बताउँदै, संस्थाहरू दातृ निकाय मुखी भन्दा आत्मनिर्भर उद्यमशिलता माेडलमा कार्य गर्नुपर्ने बताउनु भयाे ।
वि.सं २०६८ सालमा स्थापित यस संस्थाले युवा तथा महिलाहरुमा लक्षित गरि सीप विकास, आयआर्जन र उद्यमशीलता विकासको क्षेत्रमा मात्रै काम गर्दैन आइरहेको छ। कोभिड महामारी पछिको अवस्थामा संस्थाले आन्तरिक संस्थागत क्षमता विकासका कार्यक्रमहरु र युवा सवालमा आधारित वहस र इभेन्ट कार्यक्रमहरु संचालन गर्दै आइरहेको थियोे।
संस्थाले आगामी दिनमा सरकारी तथा अन्य गैरसरकारी संघसंस्था संगको सहकार्य, क्षमता विकास एवम् शसक्तिकरण र उद्यमशीलता मोडलका व्यवसायिक प्रवर्द्धन गर्ने कार्यक्रमहरु सहितका कार्योजना तय गरेको जनाएको छ।
