पर्वत-पर्वत जेसीज-२०२५ ले सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । यहीँ कार्तिक २९ देखि मंसिर ५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको आज बिहिवार पत्रकार सम्मेलन गरि जानकारी गराइएको हो ।
कार्तिक २९ गते औपचारिक रुपमा कार्यक्रम उद्घाटनसँगै बिद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम, ३० गते नारायण माध्यमिक बिद्यालयमा लागू औषध दुर्व्यसन सम्बन्धि सचेतना कार्यक्रम संचालन गरिने कार्यक्रम मुल संयोजक सर्मिला पौडेलले जानकारी दिनुभयो ।
त्यतै मंसिर १ गते जेसिज पर्वत र पत्रकार महासंघ पर्वतबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता, मंसिर २ गते जेसीज गाउँ चुवा पर्वत स्थित मंगलोदय माध्यमिक बिद्यालयमा कम्प्युटर मर्मत तथा सामाग्री हस्तान्तरण, मंसिर ३ गते जेसीज बोर्ड स्थापना तथा सरसफाइ कार्यक्रम, मंसिर ४ गते स्लो बाइक रेस प्रतियोगिता र सप्ताहको अन्तिम दिन मंसिर ५ गते लोक नृत्य प्रतियोगिता र जेसीज संगम कार्यक्रम सहित कार्यक्रमको समापन गरिने पौडेलले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्वत जेसिज अध्यक्षीय क्लबका अध्यक्ष निर्मल विश्वकर्माले पर्वत जेसीजले विगतदेखि सामाजिक कार्यमा अग्रसर भएर समाज रुपान्तरणमा जोड दिएको बताउनुभयो । कार्यक्रममा बोल्दै जेसीज पर्वतका अध्यक्ष अच्युत पौडेलले युवाहरुको नेतृत्व र व्यक्तित्व विकास जोड दिदै विभिन्न सकारात्मक र रचनात्मक कार्यहरू गर्दै आएको बताउनुभयो ।
युवा पुस्तालाई समाजिक कार्यमा अग्रसर गराउने, स्वास्थ्य, शिक्षा, प्रविधि, संस्कृति र खेलकुदबाट समाजमा सकारात्मक परिवर्तन, युवाहरूमा सहयोग, सहकार्यमा प्रेरणा प्रदान गर्ने कार्यक्रम संचालन गरेको उहाँले बताउनुभयो ।
“सीप र सम्भावना : नयाँ युगको सुरुवात” भन्ने मुल नारासहित जेसीज- २०२५ ले सबैको साथ र सहयोगमा विभिन्न कार्यक्रम सम्पन्न गरिसकेको र सप्ताहव्यापी कार्यक्रमलाई पनि सफल पार्नका लागि सबैको सकारात्मक सहयोगको अपेक्षा गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष माया अधिकारी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
पर्वत जेसीजका अध्यक्ष अच्युत पौडेलले अध्यक्षता, मिडिया संयोजक तथा कार्यक्रम संयोजक लक्ष्मण बिसिको स्वागत र कार्यक्रमको संचालन महासचिव प्रवेशराज पुरीले गर्नुभएको थियोे ।









