२० कात्तिक, चितवन । आज दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै भाइटीका लगाउने चलन छ ।सर्लाही हरिवन नगरपालिक– ८ कि ४८ बर्षकी कालीमाया आलेले पनि विगत ४३ बर्षदेखि यसरी नै भाइलाई दुःख कष्ट नपरोस्, रोगब्याधी नलागोस् भनेर दीर्घायूको कामना गर्दै भाइटीका लगाइन् । तर, कान्छो भाइ ४३ बर्षीय भोजबहादुर आलेलाई गम्भीर रोग लागेका बेला आफ्नो अंग कलेजो नै काटेर दिएर बचाइन् । भाइ भोजबहादुर कलेजो बिग्रिएर जीवनको अन्तिम क्षणमा थिए । चिकित्सकहरुका अनुसार यदि समयमा नै कलेजो प्रत्यारोपण नगरे मृत्यु निश्चित थियो । कालीमायाले भाइलाई कलेजो दान गरेर जीवन दिइन् ।
चितवन मेडिकल कलेजमा भाइको सफल कलेजो प्रत्यारोपणपछि कुरा गर्दै कालीमायाले भाइको जीवन बचेकोमा औधी खुसी लागेको बताइन् । कालीमायाका दुई दाजुभाइ छन् । भोजबहादुर सबैभन्दा कान्छा हुन् । ‘भाइटीका लगाउँदा दुई दाजुभाइ लहरै बस्छन् । त्यो लहरबाट भाइ गुमाउनु परेको भए मलाई खपिनसक्नुको पीडा हुने थियो’ कालीमायाले भनिन् ‘मैले सम्झिएँ, म मरे पनि मर्छु तर भाइलाई जोगाउँछु ।’ उनले जसरी पनि भाइलाई कलेजो दिएर बचाउने अठोट गरिन् ।
गएको भदौ १५ गते भोजबहादुरको कलेजोको सफल प्रत्यारोपण भयो । कलेजो प्रत्यारोपण सर्जन डा। सञ्जय यादवको नेतृत्वमा डा। किरण अधिकारी, डा। प्रविन जोशी, डा। बरुण श्रेष्ठ, डा। सागर पौडेल, डा।नविन यादव, डा।सुरेश गौतम, डा। सन्देश महतो, डा। आषिश यादव, डा। अनिस यादवलगायतको टिमले गरेको हो ।अहिले दिदी र भाइ दुवैको अवस्था सामान्य छ । उनी दुवैजना डिस्चार्ज भएर आराम गरिरहेका छन् ।
चितवन मेडिकल कलेजमा विगत डेढ बर्षदेखि नियमित फलोअपमा रहेका भोजबहादुरको सिरोसिस् अफ लिभर भएको डा। सागर पौडेलले बताए ।भोजबहादुरको कलेजो प्रत्यारोपण गर्नुपर्ने भयो, तर उनकी पत्नी र छोराहरुको कलेजो मिलेन । कालीमायाले कलेजो प्रत्यारोपण अगाडिका दिन सम्झिदै भनिन् ‘बुहारीको पनि मिलेन, भदाहरूको पनि भएन, अनि मैले अठोट गरेँ, अब ४८ वर्ष भइसकेँ, गर्नु नै के छ र रु मरे दुवै मरिन्छ, बाँचे दुवै बाँचिन्छ भनेर कस्सिएँ ।’
कलेजो दिने कुरा उनले श्रीमान झपटबहादुर आलेलाई सुनाइन् । श्रीमानले तिम्रो विचार मैले के भन्ने जवाफ पाइन् । श्रीमानले अरु केही भनेनन् । ठूलो दाइ मधुमेहका रोगी भएकोले कलेजो दिन नमिल्ने थियो । माइली बहिनी र बुहारीको मिलेन । बुहारी आफ्नै मामाको छोरी हुन् । ‘अन्तिममा मैले नआँटे भाइ नबाँच्ने जस्तो भए पछि कस्सिएँ’ कालीमायाले भनिन्, ‘एउटै आमाको पाठेघरमा बसेको, त्यही आमाको दूध खाएको, मैले कलेजो नदिँदा भाइलाई तलमाथि भयो भने त म बाँचेर पनि सार भएन, कि लास कि सास भनेर आँटे ।’
भोजबहादुर अटो रिक्सा चलाएर परिवार पाल्दै आएका थिए । दुई वर्षअघि बिरामी भएपछि उनले यो पेशा छाडे । कलेजो बिग्रिएकोले उनलाई अब बाँच्ने आशा पनि थिएन । जीवन अल्पायूमा नै जाने भयो भन्ने चिन्ताले सताउँथ्यो । दिदीले कलेजो दिएपछि उनले नयाँ जीवन पाए । भाइ बचाउन सकेकोमा दिदी पनि निकै खुसी छन् । onlineKhabar वाट साभार








